म्याग्दीमा चार हजार जना नयाँ मतदाता थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयले साउन १ देखि भदौ ३ गतेसम्म तस्विर सहितको मतदाता नामावली दर्ता अभियान सञ्चालन गरेको थियो । जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलका अनुसार थपिएको अवधिमा चार हजार २३७ जनाले नामावली दर्ता गराएको बताए ।

‘स्थानीय तहमा उत्साहजनक सहभागिता देखियो, मतदातालाई सहज हुने गरी नामावली संकलन गरिएको थियो’ पौडेलले भने । उनले जिल्लाका राजनीतिक दलले समेत अभियानमा सहयोग गरेकाले सहज भएको बताए । दुई हजार ३५३ पुरुष र एक हजार ८८४ जना महिलाले नामावली दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीका छ वटै स्थानीय तहमा तस्विर सहितको मतदाता नामावली दर्ता गरिएको थियो ।

राहुरेको जिल्ला समेत भनेर चिनिने म्याग्दीमा विगतका निर्वाचनमा विदेशमा भएकै कारण मतदानमा सहभागि हुनबाट बन्चित भएकाले खोजीखोजी कार्यालयमै पुगेका थिए । मतदाता नामावलीमा नाम दर्ता गराउन योग्य मतदातालाई लक्षित गरी विभिन्न संचारमाध्यम, स्थानीय तह, वडास्तरमा समेत प्रचारप्रसार गरिएको थियो । अधिकांश बसाई सरी आएका र बिदेशबाट फर्कीएका युवाले नाम दर्ता गराएका छन् । यूवा देखी बृद्धबृद्धासम्म अन्तिम समयसम्म निर्वाचन कार्यालयमा पुगेका थिए ।

स्थानीय तहमा उम्मेदवारको प्रचारप्रसारमाहिडेपनि नामावलीमा नाम भएकै कारण मतदानमा बन्चित भएका कार्यकर्तालाई दलको सहयोगमा नाम दर्ता गरिएको थियो । नामावली संकलनसंगै नाम, ठेगाना, विवरण फरक परेकाले सच्चाउन निवेदन दिएका छन् । गत बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह चुनाव भएको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता थिए । जिल्लामा नयाँ मतदाताको मत निर्णायक जस्तै हुने गरेको छ ।