एउटै वडाबाट १ सय ५२ मेगावाट विद्युत

0
262

जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट करिव १ सय ५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । छिमेकी दानामा निर्माणधिन अवस्थामा रहेको २२० केभी विद्युत प्रसारण लाइनको निर्माण कार्य तिब्र गतिमा अगाडी बढेपछि जलविद्युत उत्पादनमा प्रचुर सम्भावना रहेको नारच्याङमा लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीले समेत लगानी जुटाएर काम सुरू गरेका छन् ।

नारच्याङमा रहेका विभिन्न खोलाबाट धमाधम आयोजनाका काम सुरू भएपछि स्थानीयले रोजगारको अवसरका साथै आर्थिक कारोबार समेत बढेको छ । नारच्याङमा रोर्वट्स इर्नजी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोला जलविद्युत आयोजनाको २३ सय मिटर लामो टनेलमा ९ सय ७० मिटर, पावर हाउस, बालुवा थिग्राउने दुईवटा पोखरी, पेनस्टक लगाएतका निर्माणकार्यले तिब्रता पाएको छ ।

आयोजनाले परामर्शदाता नियुक्ती गरेपछि ठेकेदार कम्पनी हाई हिमालय हाईड्रोले टनेल देखी पावरहाउस सम्मको कामलाई निर्धारित समयमै सम्पन्न गर्ने गरी बर्खाको समयमा समेत काम गरिरहेको छ । ‘उत्साहजनक प्रगती भएको छ । तोकिएको समयभन्दा अगाडी नै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखेर काम भइरहेको छ’ म्रिस्ती खोलाका आवासीय इन्जिनियर दिवाकर खड्काले भने । उनले टनेलको काम आगामी ११ महिनाभित्र सकिने बताए ।

त्यस्तै आयोजनाको आवासगृह, तीनवटा बेलीबृज, सडक लगाएतका संरचनाहरू रहेकाले पनि निर्माण साम्रागी ढुवानी, अनुगमन लगाएतका गतिविधिमा सहज भएको जनाएको छ । म्याग्दीबासीको सक्रियतामा सुरू भएको ५ मेगावाट घलेम्दी खोला जलविद्युतको दुवैतर्फबाट१७ सय मिटर सुरुङ जोडिएको छ ।

आयोजनाले आगामी चैत्र महिनाभित्र परिक्षण उत्पादन गर्ने गरी इन्टेकतर्फ ड्याम, खोला परिवर्तन, डिसेन्डर बेसिन, को करिव ६० प्रतिशत काम सकिएको आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताए ।‘बाँकी कामलाई थप जनशक्तीको ब्यवस्थापन गरेर सुरू गर्ने तयारी गरिएको छ ।टनेलको काम सकिनु आयोजनाको ठुलो उपलब्धी हो’ श्रेष्ठले भने ।
निलगिरि खोलाबाट पहाडको भित्र ड्याम राख्ने निलगिरि खोला हाइड्रो पावरले ६२ र ३८ मेगावाटको आयोजनाले सडक, मजदुरलाई आवासगृह लगाएतका संरचना सुरू गरेको छ ।

अन्नपुर्ण बेसक्याम्पको फेदमा ड्याम राख्ने तयारी गरिएको आयोजनाले हुवाखोला देखी छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगाावाट उत्पादनको लक्ष्य राखिएको छ। त्यस्तै ५ मेगावाटको रेलेखोलाले समेत सर्वे, पानी जाँच लगाएतका काम गरिरहेको छ ।  ‘गाउँमा जलविद्युत आयोजना भित्रिएपछि स्थानीयले समेत अवसर पाएका छन् ।राज्यले तोकेको ज्याला नदिने आयोजनालाई खवरदारी गनुर््पर्ने देखिएको छ’ जलविद्युत उपभोक्ता समितिका सदस्य तम बहादुर पुनले भने।

उनले जलविद्युत आयोजनाले विद्यालयमा दरबन्दी, सडक, खानेपानी, मन्दिर लगाएत स्थानीयस्तरमा हुने कार्यक्रममा सहयोग गरेका छन् । स्थानीयबासीले जलविद्युत आयोजनालाई अनावश्यक माग तेर्साउने, अवरोध गर्ने लगाएत काम नगरेपनि ठुला आयोजनाबाट अपेक्षाकृत सहयोग नभएको गुनासो जिल्ला प्रशासन कार्यालय, गाउँपालिकामा गरेपछि छलफल गरेर समस्याको समाधान निकाल्ने प्रयास समेत गरिएको थियो ।

‘उत्तरी म्याग्दीको विकासमा जलविद्युत कोशेढुंगा सावित हुनेछ । उर्जालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ’ गाउँपालिका–६ वडा अध्यक्ष एवम् प्रबक्ता कृष्ण बहादुर बरुवालले बेनीअनलाइनलाई बताए ।

उनले अन्नपूर्ण उज्यालो अभियान समेत सञ्चालन गरेको बताउँदै निर्माणधिन अवस्थामा रहेका आयोजनालाइ्र्र प्राथिमकता तथा लाइसेन्स लिएर काम नगरेकालाई खारेज गर्ने गरी सम्बन्धित निकायमा पत्रचार समेत गरिने बताए । चालु आर्थिक बर्षमा गाउँपालिकाका सबै घरधुरीमा उज्यालो पुयाउने गरी अभियान सञ्चालन गरेको छ ।

यसैविच जग्गा अतिग्रहण सहित विभिन्न काम पुरा गरेपनि खारेजीमा परेको २ सय ६५ मेगावाटको कालिगण्डकी गर्जले छिमेकी जिल्ला मुस्ताङको सिमाना घाँसाबाट नारच्याङको घरापसम्म सुरूङमार्ग बनाएर जलविद्युत निर्माण गर्ने योजना बनाएको छ । हाईड्रो सोलुसनले अग्रसरता लिएको आयोजना समेत नारच्याङमै पर्छ । जिल्लाका पाँचवटा गाउँपालिका मध्ये आन्तरिक स्रोतमा अन्नपूर्ण अब्बल मानिन्छ । जलविद्युत संगै जिल्लामा भित्रिने बार्षिक ६० हजार विदेशी पर्यटकमध्ये करिव ७० प्रतिशत अन्नपुर्ण क्षेत्रमा जाने गरेका छन् ।