बेनीमा विद्यालयस्तरीय छात्रा फुटबल सुरू

0

म्याग्दीको सदरमुकाम बेनीमा बुधबार देखी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता सुरू भएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गदैं विद्यालयस्तरमा हुने खेलकुद गतिविधिले प्रतिभाको पहिचानमा सहज हुने बताए ।

उनले फुटबलमा छात्र सरह छात्राको समेत फुटबलमा उपस्थितीले उत्साहित भएको बताए । उनले हिन्दु नेपाली महिलाको पर्वको अवसरमा छात्रालाई लक्षित गरी सुरु गरिएको प्रतियोगिताको निरन्तरताको कामना समेत गरे ।

म्याग्दीको सदरमुकाम बेनी र छिमेकी पर्वतबेनी गरी १० विद्यालयको उपस्थिती रहेको प्रतियोगिताको उद्घाटन सत्रको अवसरमा बोल्दै प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले म्याग्दीमा महिला फुटबलको सुरुवात भएको बताईन् । उनले छात्र मात्रै खेल्ने खेलका रुपमा समेत चिनिएको अवस्थामा जिल्लास्तरीय प्रतियोगिता नै गरी छात्रालाई समेत फुटबलमा अवसर दिने आयोजक प्रति आभार प्रकट गरिन् ।

कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रतियोगिताकी संयोजक एवम् समितिकी सदस्य मनकुमार विक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन समितिका कोषाध्यक्ष दिनेश केसी, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले गरेका थिए । यसैविच उद्घाटन खेलमा माउण्ट एभरेष्ट आवासीय माविले न्यु होराईजन पर्वत बेनीलाई सुन्यका विरुद्ध ३ गोल प्रहार गरेको थियो । त्यस्तै दोस्रो खेलमा बेनी आवासीय माविले प्रकाश मावीलाई १ गोल प्रहार गदैं दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिता बिहिबार सम्पन्न हुने छ ।