अज्ञात समुहले मिनीबसमा आगजनी

0

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा अज्ञात समुहले मिनीबसमा आगजनी गरेको छ । दरवाङमा पार्कीङ गरेर राखिएको अवस्थामा बेनी–दरवाङ सडकखण्डमा चल्ने ध १ ख २९७ नम्बरको बस आगजनीबाट ध्वस्त भएको हो ।

स्याली बजारको छेउमा पार्किङ गरेको अवस्थामा मंगलबार राती नियोजित रुपमा आगजनी गरिएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बेनीअनलाइनलाई बताए । उनले बसमा योजनाबद्ध तरिकाले आगो लगाइएको बताए । प्राविधिक कमजोरी नभई मान्छेले आगो लगाएकाले प्रहरीलाई दोषीको पहिचान गरी कारवाही गर्न माग गरिएको छ।

यातायात ब्यवसायी कमल जिसीको बसको आगलागीबाट सबै पाटपुर्जाहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ ।समितिका पदाधिकारी आगजनीको स्थलगत अवस्था बुझेर जिल्ला प्रहरी कार्यालय म्याग्दीमा छानवीनको माग गदैं निवेदन दिएका छन्। आगजनीबाट करिव २५ लाख रुपैयाँ बराबरको क्षती भएको समितिले जनाएको छ । एकान्त ठाउँमा पार्किङ गरिएको थियो । यसैविच इलाका प्रहरी कार्यालय दरवाङले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको छ ।