बेनी नगरपालिका वडा–८ मा अनलाइनबाट ब्यक्तिगत घटना दर्ता सुरू

0
687

म्याग्दीमा पहिलोपटक अनलाइनबाट ब्यक्तिगत घटना दर्ता सुरू भएको छ । बेनी नगरपालिका वडा–८ ले गणेशटोलमा स्थापना गरेको कार्यालयको उद्घाटनको अवसरमा अनलाईनबाट ब्यक्तिगत घटना दर्ता सुरू गरेको हो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले छोरी तेजस्वी र छोरा विद्धत केसीको अनलाईनको माध्यमबाट घटना दर्ता गराएका राजु केसीलाई दर्ता प्रमाणपत्र प्रदान गरेर सेवाको सुरुवात गरेका थिए ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका पञ्जिकरण विभागको सर्भरमा अनलाइनको माध्यमबाट ब्यक्तिगत घटना दर्ताले समयको बचत हुने, घरबाटै इन्टरनेटको माध्यमबाट समेत दर्ता गर्न सकिने बताइएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका पञ्जिकरण तथा सामाजिक सुरक्षा फोकलपर्सन राजेन्द्र आचार्यले जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई जस्ता ब्यक्तिगत घटनाहको दर्ता अनलाइनबाट प्रभावकारी हुने बताए ।

कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण बराईलीले जिल्लामै पहिलो अनलाईन सेवा सुरुवात गर्ने अवसर मिलेको बताउँदै सेवाग्राहीलाई छिटो छरिटो सेवा प्रवाह गरिने बताए । उनले अनलाइन सेवाका बारेमा वडाका सबै घरधुरीमा सुचना प्रवाह गरिने प्रतिद्धवता जनाए । उनले वडामा पर्ने बसपार्कको ब्यवस्थापनका साथै कालिगण्डकी नदीमा फोहोर फाल्ने गतिविधिलाई नियन्त्रण गर्ने बताएका थिए ।

गणेशटोल आसपासबाट बजार संरक्षण गर्न बनाइएको तथबन्ध आसपासमा दैनिकजसो फोहोर फाल्ने गरिएको गुसानो आउने गरेपनि फोहोर फाल्नेलाई कारवाही हुन सकेको छैन् । सेवा शुभारम्भको अवसरमा नगरपालिकाकी उप–प्रमुख सन्जु बरुवाल, निमित्त कार्यकारी अधिृकत विमल रञ्जन केसी, वडा सदस्य, पत्रकार, राजनीतिक दलका वडा प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कृष्णप्रसाद सुबेदीले गरेका थिए