म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा बुधबार देखी सुरु भएको छात्रा फुटबल प्रतियोगिताको फाइनलमा न्यु वेष्ट प्वाइन्ट मावि र बेनी सामुदायिक मावि प्रवेश गरेको छ । बिहिबार विहान भएको खेलमा न्यु वेष्ट प्वाइन्ट माविले माउण्ट एभरेष्ट आवासीय माविलाई पेनाल्टीमा रोकेको थियो ।

निर्धारित समयमा गोलरहित सकिएको खेल पेनाल्टीमा माउण्टका खेलाडीले सुनौलो अवसर गुमाएका थिए । उपाधीको दावेदार मानिएको माउण्टले पटकपटक गोल गर्ने अवसर गुमाएको थियो । त्यस्तै सेमिफाइनलको दोस्रो खेलमा बेनी सामुदायिकले लिटल ग्रार्डेन एकेडेमीलाई सुन्यका विरुद्ध ४ गोल प्रहार गदैं फाइनलमा प्रवेश गरेका थिए । बेनी सामुदायिकका विद्यार्थी सामु लिटल गार्डेनका खेलाडी स्तब्ध भएका थिए । प्रतियोगिताको फाइनल खुल्लामञ्चमा केही समय पछाडी हुदै छ ।

जिल्ला खेलकुद विकास समितिद्वारा ‘हामी पनि सक्छौं’ भन्ने मूल नारासहित अन्तर विद्यालयस्तरीय प्रथम छात्रा फुटबल प्रतियोगिता–२०७४ आयोजना गरिएको हो । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर दुई दिनसम्म आयोजित प्रतियोगितामा जिल्लास्थित विभिन्न १० ओटा विद्यालयका छात्राहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई क्रमशः नगद १५ हजार, द्वितीयलाई ९ हजार, ट्रफी मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता लगायतलाई पनि १ हजार पाँचसय तथा अनुशासित टिमलाई २ हजार पाँचसय रुपैयाँसहित मेडल र प्रमाणपत्रस्वरुप पुरस्कार दिइनेछ ।