बैकुण्ठ महत र नारायण सापकोटाको शब्द रचनामा रहेको यस गीतलाई लोकगायिका हरिदेवी कोइराललाले केही वर्ष अगाडि नै गाएकी थिइन् । मौलिक प्रकृतिको यस गीतलाई धेरैले मन पराए पनि । अहिले यसै गीतलाई कल्पना कुशुमले कोइरालको अनुमतिमा पुनः रेकर्ड गराएकी छन् ।
कहाँमा जान्छौ रानी चरी बगाल
          बरिलै भगवानलाई भेटन
                      भगवानलाई भेटन के के पाहुर चाहिन्छ

               बरिलै फूलपाती अक्षता ।।

यस पल्ट पनि संख्यात्मक रुपमा धेरै तीज गीत बजारमा आए । रहर लाग्यो कि गीत निकालिहाल्ने चलन रहेको छ । अझ तीज गीत त जसले पनि निकाल्ने गरेका छन् । अझ तीज गीतमा मौलिकता हराएको गुनासो आउन थालेको त धेरै भयो । अहिले चर्चामै आउनका लागि तीज गीत निकाल्ने परिपाटी बसेको छ । पत्रकारका पनि तीज गीत, राजनीतिमा लागेकाको पनि तीज गीत, पुरुषका पनि तीज गीत, महिलाका पनि तीज गीत अहिले बजारमा आएका छन् ।

तीज गीत महिलाको पीडा साथीसंगीसँग बाँड्ने माध्यम हो । यसमा तीजमा माइत जान नपाएका कुरा, घरमा सासुआमाले दुःख दिएका कुरा, खुशीका कुरा समावेश गरिन्थ्यो पहिले–पहिलेका तीज गीतमा । यो वर्ष पनि २०० भन्दा बढी तीज गीत बजारमा आएका छन् । तर राम्रा र मौलिकपन भएका तीज गीत औँलामा गन्न सकिने संख्यामा छन् । यस पाली हरिदेवी कोइरालाले थोरै गीत निकालेकी छन् । तर उनका गीतमा अझै पनि मौलिकता हराएको छैन । कतिपय पुराना कलाकार पनि चर्चामा आउनकै लागि जस्ता पनि गीत गाउन थालेका छन् । कोइरालाले यसपल्ट तीजमा माइत जान नपाएकी छोरीको पीडालाई गीतमा उतारेकी छन् :
वर्ष दिनको तीजमा बाबा लिन आएका
पठाएनन् घरकाले फर्के फरक्क
छोरी आइन भनेर आमा रोलिन धरक्क

दसैँ र तिहारमा लरक्क ।।

 

२०५९ सालमा नै हरिदेवी कोइरालाले रकर्ड गराउनुभएको ‘नक्कल पारी नभने’ बोलको गीत यो पल्ट पनि चर्चामा रहेको छ ।
दैला मुनिको हलकेको दुबो
काटी मलाई नभने गाईले खाएको
आधा कपाल काटीछु, आधा कपाल बाटीछु

नक्कल पारी नभने चल्ती आएको ।।

गत वर्ष ‘लास्टै चोटी’ गीत ल्याएकी कोमल वलीले पनि यर्स वर्ष केही गीत गाएकी छन् । पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेकी कोमल वलीले नयाँ गीतमार्फत देशको सेवामा लाग्ने बताएकी छन् । पशुपति शर्माको शब्द रहेको ‘चाहिएन पोइ’ बोलको गीतमा राजनीतिमार्फत देशको विकास निमार्णमा लाग्ने इच्छा व्यक्त गरेकी छन् कोमल वलीले ।
अब म बाँच्ने देशकै लागि हो

अब म नाच्ने यसकै लागि हो ।।

 

यो गीतको संवादमा पशुपति शर्माले कोमल वलीलाई राजनीतिमा लागेपनि भ्रष्ट भने नबन्न आग्रह गरेका छन् ।
त्यस्तै एकनारायण भण्डारीको शब्दरचनामा पनि कोमल वलीले गीत गाएकी छन् । यो गीतमा भने माया प्रीतिको कुरा गरिएको छ । आफ्नो मायालुले नहेरेसम्म आफू ननाच्ने कुरा यो गीतमा व्यक्त गरिएको छ ।
म त नाच्दिन केरे
मेरो प्यारे मायाले नहेरे ।।
 
कुनै समयकी चर्चित लोकदोहमोरी गायिका लक्ष्मी न्यौपानेले पनि तीज गीत लिएर आएकी छन् । सारदा भुसालसँग मिलेर उनले ‘झल्को माइतीको’ बोलको गीत ल्याएकी छन् ।

‘ठमेल बजार’ र ‘काले दाइ’ जस्ता चर्चित गीत गाएकी मीना निरौलाले यसपल्ट मौलिक प्रकृतिको गीत ल्याएकी छन् । वरिष्ठ गीतकार चेतन कार्कीको शब्द संकलन र वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानको संगीतमा रहेको ‘वर्ष दिनको तीजमा’ गीतको म्युजिक भिडियोमा दिया मास्के र मिथिला शर्माको अभिनय रहेको छ ।

तर यसपल्ट केही गीत भने औसत नै छन् । पूर्णकला बिसी र गोपाल नेपाल जिएमले साडी र फरिया लाउँदा कसैले नहेरेको भन्दै  कट्टु लगाएको भन्ने अर्थ लाग्ने गीत बजारमा ल्याएका छन् ।
परार लगाइथेँ झिलझिले साडी कसैले हेरेनन्
पोहोर लगाइथेँ बुट्टे फरिया झन टेर्दै टेरेनन्

अहिलेको तीजमा चपक्क कट्टु, कट्टुमा नि बुट्टा ।।

त्यस्तै सरस्वती लामा भने यो पालीको तीज मौलिकतामा भन्दा पनि रकस्टाइलमा मनाउने मूडमा देखिन्छिन् । तीज गीत पनि रक, पप जे शैलीमा गाए पनि हुनेरैछ ।

 

सिन्धु मल्लले गाएको ‘अहिलेको तीज’ भने मौलिक नै लाग्छ । राजकुमार बगरको शब्द र सुदाम संगीत रहेको यो गीतको म्युजिक भिडियोमा वर्षा रावत र वर्षा शिवाकोटीको अभिनय रहेको छ ।
घिनघिन मादल बजाउँदै, अलिअलि लजाउँदै
अहिलेको तीजैमा लै लै  नाचौँ छमछम
जिन्दगीको के भर मरिलानु के छ र

गरौँ है रमाइलो बरै नाचौँ छमछम ।।

 

आफ्नै इतिहास, परम्परा र मान्यता बोकेको तीज पर्व अहिले भड्किलो बन्दै गएको छ । त्यतिमात्रै होइन, यसको मौलिकपन पनि हराउँदै गइरहेको छ । संस्कृति र परम्परालाई निरन्तरता दिनभन्दा पनि अरुलाई देखाउनका लागि तीज मनाइने गरेको छ । अझ तीजमा गाइने गीतमा आएको विकृति र अश्लीलता छाएको छ । तीजको मौलिकपनलाई बचाउने हो भने तीज गीतदेखि लिएर पहिरनसम्ममा विचार पुर्‍याउनु आवश्यक छ । ujyaaloonline.com