नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा वैदेशिक रोजगार र महिलाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । महिला अधिकार मञ्च म्याग्दी सचिवालय संस्था मिलन म्याग्दीको आयोजना र सिविन नेपालको सहकार्यमा अन्तत्र्रिmया गरिएको हो ।

वैदेशिक रोजगारमा गएका व्यक्तिहरुलाई आइपर्ने विभिन्न समस्या र चुनौतीको सामना तथा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको महिला अधिकार मञ्च म्याग्दीले जनाएको छ ।

वैदेशिक रोजगारीकै कारण उनीहरुको घर परिवारमा आएको समस्याको न्युनीकरण गरी आइपर्ने समस्याप्रति सजग रहन, समाजमा आएको बिकृतीलाई नियन्त्रण एवं विदेश यात्रा सुरक्षित र भरपर्दो बनाउन कार्यक्रम गरिएको महिला अधिकार मञ्चका जिल्ला अध्यक्ष दिवाकुमारी पुनले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले वैदेशिक रोजगारले निम्त्याएको समस्या समाधानमा सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारका कारण समाजमा बिकृति र बिसङ्गति मौलाउँदै गएको बताउँदै हिंसा न्युनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले वैदेशिक रोजगारले पारिवारीक बेमेलको सिर्जना, सम्बन्धबिच्छेद, आर्थिक हिनामिना, हिंसाको विजारोपण गर्नसक्ने भएको हुँदा सचेतना अपनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रनाउ खड्काले ‘वैदेशिक रोजगार ः अवसर चुनौती र महिलाको भूमिका’का बारेमा सहजीकरण समेत गर्नुभएको थियो ।

उक्त कार्यक्रमको अवसरमा नेपाल प्रहरी महिला तथा बालबालिका सेवा निर्देशनालयद्वारा निर्मित ‘लघु चलचित्र’ देखाइएको थियो । सो चलचित्रमार्फत समाजमा घट्न सक्ने घरेलु हिंसा, बालविवाह, जबरजस्ती करणी, साइबर क्राइम लगायतका घटनाको गर्न सकिने न्युनीकरणका उपायसम्बन्धी विषय उजागर गर्न खोजिएको प्रनाउ खड्काको भनाई छ ।

कार्यक्रममा सहभागी महिलाहरुले समाजमा पछिल्लो समय वैदेशिक रोजगारीका कारण विभिन्न समस्या भित्रिएको बताउँदै त्यसको समाधानका लागि सबै लाग्नुपर्ने बताएका छन् । उनीहरुले वैदेशिक रोजगारीलाई एक अवसर र परिवर्तनको रुपमा लिनुपर्ने भन्दै वैदेशिक रोजगारसँग सम्बन्धित कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।

हिंसा न्युनीकरण गर्न महिला स्वयं सचेत हुनुपर्ने उनीहरुको भनाई थियो । कार्यक्रमको अवसरमा महिलाहरुले तीजसम्बन्धी गीतमा नाचगान समेत गरेका थिए । महिला अधिकार मञ्च म्याग्दीका अध्यक्ष दिवा पुनको अध्यक्षता, सचिव विष्णु गौतम सापकोटाको सञ्चालन र सल्लाहकार तथा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जमुना आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्थामा आबद्ध प्रमुख÷प्रतिनिधि, महिलालगायतको सहभागिता रहेको थियो ।