भगवान श्रीकृष्णले दानवरुपी लाखेको बध गरेसंगै सकियो बर्खेनाच

0
478

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको ‘बर्खेनाच’ सम्पन्न भएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि सुरु भएको नाच बिहिबार हिन्दु नेपाली महिलाको महानपर्व तीजमा दानवीय स्वरुपको लाखेलाई बध गरी नाच सकिएको नेपाल भाषामंकाःखल अन्तर्गतको ल्याम पुचःका अध्यक्ष सुविन श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

‘राक्षसको रुपमा रहेको लाखेलाई भगवान श्रीकृष्णले बध गर्नुहुन्छ । असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ’ उनले भने । बेनीबजार परिक्रमण गरी गणेश मन्दिरमा लाखेसंग भएको भीषण लडाईमा भगवान श्रीकृष्णले हत्या गरेको दृष्य हेर्नेको घुईचो लाग्ने गर्दछ ।

करिव ८ मिनेटको लडाईमा बध गरेपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रर्दशन गरिन्छ । बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।

समाजमा दुःख दिनेपात्रको रुपमा चित्रित घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमा पश्चात म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर विसर्जन घण्टाकर्ण पर्वको असवरमा पर्वको दिनदेखि सुरु हुने बर्खेनाचको अन्त्य समेत सत्यको पक्षमा सन्देश फैलाउँदै अन्त्य हुने भएकाले पनि यसको धार्मिक महत्व रहेको नेवार समुदायका बुढापाकाको भनाई छ । नाचको पछिल्लो समय नेवार समुदायका यूवाहरुले नेतृत्व लिने गरेका छन् । बर्खेनाच अन्तर्गत लाखेनाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र सथयात्रासहित विविध नाच देखाउने गरिएको छ ।

बर्खेनाच अन्तर्गत जनैपूणिमाको दिन र भोलिपल्ट वर्षभरीमा दिवंगत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलनसमेत रहेको छ । बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसोबास गर्ने क्षेत्री, बह्माण र जनजाती युवाहरुले पनि साथ दिने गरेका छन् । बर्खेनाचको अन्त्य भएको दिन देखी नेपालीहरूका प्रमुख चाडको चहलपहल सुरु हुन्छ ।

बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ । बर्खे नाच अन्तरर्गत नै गाइजात्राको दिन बर्षभरी निधन भएकाको आफन्तकहाँ पुगेर मृतकको चिरशान्तिको कामना गर्ने चलन रहेको यूवा नरेश श्रेष्ठले बताए । ‘यूवाको सक्रियतामा बुढापाकाको साथ छ । बर्खेनाचलाई निरन्तरता दिनु म्याग्दीको मौलिक कलाको संरक्षण गर्नुपनि हो’ उनले भने ।

सदरमुकाम बेनीमा करिव दुईसय बर्ष पुरानो बर्खेनाचलाई आधुनिकरण, प्रयाप्त जनशक्ती, आर्थिक ब्यवस्थापन लगाएत विविध कारणले सञ्चालनमा समस्या देखिएपछि यूवाहरू संरक्षणमा जुटेपछि बुढापाका समेत उत्साहित भएका छन् । जनशक्ती धेरै चाहिने घोडा, रोपाई नाचलाई नियमित संचालनमा हुन सकेको छैन् ।

बर्खेनाच लोप हुन थालेपछि बर्खेनाच संचालनका लागि छुटै समिति बनाएर नियमित तालिम, आर्थिक संकलनको बहस समेत नेवारी समुदायमा उठ्न थालेको छ । यसैविच बर्खेनाचमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई नेपाल भाषामंकाःखल अन्तर्गतको ल्याम पुचले धन्यवाद दिएको छ । बर्खेनाचलाई आगामी दिनमा थप ब्यवस्थित बनाउने प्रतिबद्धता समेत जनाइएको छ ।