म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बाँके बैजापुरका बाढीपीडितलाई राहत वितरण गरेको छ । बाढीले विस्थापित भएकालाई राहत सङ्कलन अभियान अन्र्तरगत म्याग्दीबाट रोजगारको सिलसिलामा यूएई पुगेका म्याग्देलीको साझा संस्था मोना यूएईसंग सहकार्य सङ्कलन गरिएको करिव ३ लाख बराबरको राहत स्थानीय जनप्रतिनिधिको उपस्थितीमा पीडितलाई हस्तान्तरण गरिएको थियो ।

यूएईबाट १ लाख ५० हजार र शान्ति कोषका पदाधिकारी, आजीवन सदस्यबाट संकलन भएको सहयोगबाट १ लाख ५० हजारबाट ५० जना पीडितलाई झुल, ३ सय जनालाई सावुन, टुथपेस सहितका सरसफाई आवश्यक पर्ने साम्रागी नेपालगञ्ज उप महानगरपालिका उपप्रमुख उमा थापामगर, डुडुवा गाउँपालिका प्रमुख सहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दल लगाएतको उपस्थितीमा वितरण गरिएको ओमकुमारी शान्ति कोषका कोषाध्यक्ष खम थापा मगरले बताए ।

उनले जनप्रतिनिधिहरुले अति समस्या परेका पीडितको पहिचान गरेपछि राहत वितरण गरिएको थियो । राहत वितरण पूर्व संकलन गरिएको राहत तथा विवरणका बारेमा उपमहानगरपालिका, गाउँपालिकाका जनप्रतिनिधिलाई जानकारी गराइएको कोषका सदस्य नन्द पाईजाले बेनीअनलाइनलाई बताए ।

उनले जनप्रतिनिधिको उपस्थितीमा वितरण गरिएको राहत लिएपछि पीडित उत्साहित भएका थिए । स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको समेत सहभागिता रहेको कार्यक्रममा तराईमा बाढीले विस्थापित भएकालाई पहाडबाट आएको राहतले एकता र सहकार्यको सन्देश प्रवाह गरेको जनप्रतिनिधिले बताएका थिए ।

सोही अवसरमा म्याग्दी जिल्लामा कोषले गरेका सामाजिक तथा परोपकारी कार्यका बारेमा समेत जानकारी गराइएको थियो । त्यस्तै कोषमार्फत प्रकाशित सहयात्रा पुस्तक समेत जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरणमा पुगेका कोषका पदाधिकारीलाई जनप्रतिनिधिले धन्यवाद ‘सहित आगामी दिनमा समेत सहकार्य गर्न अनुरोध गरेका थिए ।