सन्तानको मृत्यु, सम्बन्ध विच्छेद, नोकरीबाट निकालिनुजस्ता तनावपूर्ण घटनाबाट हुने नकारात्मक असरले मस्तिष्क बुढो बनाउन सक्छ। अमेरिकाको एउटा अनुसन्धानकर्ताको समूहले हालै यस्तो दाबी गरेको छ।

अनुसन्धानकर्ताहरूले ५० वर्षका १३ सय जनाको स्मरणशक्ति र सोच्ने क्षमता जाँच गर्न एउटा परीक्षण गरेका थिए। अध्ययनमा मस्तिष्कमा पर्ने नकारात्मक असरको खतरामाथि ज्यादा ध्यान दिइएको थिएन। विशेषज्ञहरूले यस्तो खतराका कारण मानसिक सन्तुलनमा फरक आउनसक्ने बताएका छन्।

अनुसन्धानको प्रतिवेदन लन्डनमा आयोजित अल्जाइमर्स एसोसिएसनको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको थियो।

अनुसन्धानमा तनावको जोखिमको सम्बन्धमा ठोकुवा गरेर केही भनिएको छैन। तर, तनावपूर्ण जीवनयापनले मस्तिष्कको काम प्रभावित हुने र मानिसको बिस्तारै बिस्तारै मानसिक सन्तुलन गुम्नसक्ने बताइएको छ।

क्षीण स्मरणशक्ति

सिद्धान्ततः तनावका कारण जलन (पोल्ने/दुख्ने) र सुन्निनेजस्ता समस्या बढ्छन्। यस्ता लक्षणबाट बिस्तारै मानसिक रोगको अवस्था पनि आउन सक्छ। यसबारे साउथह्याम्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शोध गरिरहेका छन्।

विस्कन्सिन स्कुल अफ मेडिसिन युनिभर्सिटीले गरेको अनुसन्धानमा अफ्रिकी र अमेरिकीहरूलाई अन्य मानिसको तुलनामा तनावको जोखिम धेरै हुने पत्ता लागेको थियो। स्मरण परीक्षणमा उनीहरूको नतिजा निकै खराब थियो।

अरु अध्ययनले पनि जीवनको पूर्वाद्ध (सानो उमेर) मा लिइने तनाव र बस्ने कोठाको असरले पनि कतिपयलाई मानसिक असन्तुलतर्फ डोर्‍याउन सक्ने देखाएका छन्।

अल्जाइमर्स सोसाइटीका अनुसन्धान निर्देशक डा. डग ब्राउनले भने, ‘चिन्ता र तनावजस्ता स्थितिको बेग्लाबेग्लै परीक्षण गर्न कठिन छ। यी सबैले बिस्तारै बिस्तारै कडा मानसिक रोगको खतरा बढाउँछन्।’

करिब ८ लाख ५० हजार बेलायती मानसिक असन्तुलनको सिकार छन्। तीमध्ये अधिकांश व्यक्ति ६५ वर्षभन्दा माथिका छन्। करिब ४२ हजार व्यक्ति भने ६५ वर्षमुनिका छन्।

मानसिक असन्तलुनको खतरा न्यून पार्ने उपायः

१. सातामा कम्तिमा पनि पाँच दिन दैनिक आधा घन्टा शारीरिक काम वा व्यायाम गर्ने।

२. धूमपान नगर्ने, गरिरहेकाले त्याग्ने।

३. स्वस्थ र सन्तुलित भोजन गर्ने। भोजनमा माछा, फलफूल, हरिया सागसब्जी समावेश गर्ने। रातो मासु र चिनीको मात्रा घटाउने।

४. मदिरा सेवन गर्नेले सातामा १४ युनिट (बेलायतमा जारी मदिरापान सम्बन्धी नयाँ निर्देशिका अनुसार) भन्दा बढी नपिउने।

५. उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र टाइप–टु मधुमेह ख्याल गर्ने।

६. मस्तिष्कघात, हृदयरोग र मधुमेहको जोखिमबाट जोगिन आफ्नो शारीरिक वजनको पनि ख्याल गर्ने।

७. मस्तिष्कलाई सक्रिय राख्ने, वर्ड सर्च, माइन्ड गेम खेल्ने र नयाँ कुरा सिक्ने।

८. आफूलाई सामाजिक रुपमा सक्रिय राख्ने अर्थात् एक्लिनबाट जोगिने।

(साभार बिबिसी)

नोटः १ युनिट अल्कोहल भन्नाले १० मिलिलिटर वा ८ ग्राम शुद्ध अल्कोहललाई जनाउँछ। सामान्यतया २५ मिलिलिटर ह्विस्की (अल्कोहल बाई भोल्युम–एबिभी ४० प्रतिशत) बराबर १ युनिट अल्कोहल हुन्छ। यसैगरी, १ पिन्ट बियर (एबिभी ५ प्रतिशतदेखि ६ प्रतिशत) को एक तिहाइ वा स्ट्यान्डर्ड आधा ग्लास (१७५ मिलिलिटर) रेड वाइन (एबिभी १२ प्रतिशत) बराबर पनि १ युनिट अल्कोहल हुन्छ।