जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानीकी क्यान्सर पीडित पारमायाँ पाईजाको उपचारमा हङकङमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । आन्द्राको क्यान्सरबाट ग्रसित पाईजको उपचारमा छिमेकी चिमखोला र पाखापानीका हङकङ निवासी महिलाहरुको समेत पहलमा २ लाख ५ हजार ३२० रुपैयाँ पीडितलाई हस्तान्तरण गरिएको म्याग्दी प्रवासी नेपाली संघ मोना (हङकङ) का अध्यक्ष कर्ण पुनले बताए ।

उनका अनुसार बेनपा–१० पात्लेखेत निवासी राम मायाँ गर्बुजाले समेत संकलन गरेको २ लाख ५ हजार ३२० समेत पीडितलाई पठाइसकिएको छ । आन्द्रामा क्यान्सर भएपछि पाईजाको उपचारमा पाखापानी आसपासका क्षेत्रबाट विभिन्न देशमा पुगेका म्याग्देलीहरुले आर्थिक सहयोग गरेको पीडितका आफन्तले बताएका छन् । उपचारमा आर्थिक समस्या भएको समाचार बेनीअनलाइनले प्रकाशित गरेको थियो ।