बेनी नगरपालिका–३ भकिम्लीमा समुदायले सक्रियतामा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवनलाई हङकङमा १७ लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ ।

जिर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायबाट चन्दा र जनश्रमदानबाट निर्माण भइरहेको भवनलाई हङकङमा बस्ने भकिम्लीबासीको सक्रियतामा आयोजित बी बी क्यू कार्यक्रममा १७ लाख १२ हजार २७८ रुपैयाँ सहयोग जुटेको अभियान्ता मोहन रोकाले बताए ।

‘छोटो तयारीमा पनि सबैले मन खोलेर सहयोग गर्नुभयो, समुदायको सहभागितामा भएका प्रयासबाट सबै उत्साहित हुनुहुन्छ’ रोकाले बेनीअनलाइनलाई भने । केही महिना अगाडी भएको कार्यक्रममा उक्त रकम संकलन भएको थियो ।

विद्यालयको स्थापनाकालमा निर्माण भएका जिर्ण भवनमा ज्यानको जोखिम मोलेर अध्ययन र अध्यापन भइरहेको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । मोना हङकङका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, एनआरएन लगाएत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा म्याग्देली सहित विभिन्न जिल्लाबाट हङकङमा पुगेका नेपालीले सहयोग गरेका थिए ।

आर्थिक सङ्कलनको क्रममा भकिम्लीका पदम शेरचनले सबैभन्दा धेरै ८ हजार २३० हङकङ डलर, पर्वत बासखर्कका सुरेश पुनले ५ हजार, भकिम्ली हाल खैरेनीतारका कृष्ण पुन ४ हजार १८० लगाएत ९१ जनाले कुल १ लाख १७ हजार ७८२ हङकङ डलर सहयोग गरेका थिए ।

संकलिन रकम एक कार्यक्रमका विच विद्यालयमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।करिव ३ करोडको लागत अनुमान सुरु गरिएको ३० कोठे भवन अन्र्तरगत अहिले १० वटा कोठाको काम भइरहेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनले आर्थिक अवस्था कमजोर भएपनि समुदायको सक्रियतामा चन्दा मार्फत नमुना भवन निर्माणको अन्तिम चरणमा रहेको बताए ।

‘१० कोठे भवन सम्पन्न हुन लागेको छ । गाउँदेखी विश्वभर रहेका भकिम्लीबासी भवन निर्माणमा जुटेका छन्’ पुनले भने । उनले गाउँका विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेर समेत भवनका लागि सहयोग गरेको बताए । निर्माणधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट १९ लाख ५० हजार सहयोग भएको छ । भौतिक संरचनाको अभावले शैक्षिक गतिविधिमा समेत प्रत्येक्ष असर गरेकाले संरचना निर्माणको क्रममा खुल्लाचौरमा टहरा हालेर प्रावि देखी माविसम्मको कक्षा सञ्चालन भइरहेको छ ।

विद्यालयले भवन निर्माणका लागि सहज बनाउन आफ्नै ट्याक्टर, इट्टा मेसिन सहितका आवश्यक उपकरण समेत खरिद गरेकाले अनावश्यक खर्च नियन्त्रण भएको विद्यालयका प्रधानध्यापक राम बहादुर पुनले बताए । ‘भौतिक संरचनाको अभावका कारण शैक्षिक गतिविधिमा प्रत्यक्ष असर गरेको थियो । बर्खाको समयमा समेत निर्माणकार्यले गति लिएपछि दुईमहिना भित्र पहिलो चरणको काम सकिन्छ’ उनले भने । भकिम्लीबाट यूके, बेल्जियम, स्पेन, अमेरिका, हङकङ लगाएतका देशमा पुगेकाहरूले च्यारेटी सो लगाएतका माध्यमबाट आर्थिक संकलन गरेका छन भने गाउँ र देशभित्र रहेकाले समेत आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ ।