बेनी नगरपालिका–१० पात्लेखेत वाखेतस्थीत विद्योदय आधारभुत विद्यालयमा स्थानीय घारसुन्ना लालिगुराँस यूवा क्लवले हरेलो मेला सञ्चालन भइरहेको छ । करिव १० दिनसम्म चल्ने मेलामा विभिन्न खेलकुद प्रतियोगिताका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु चलिरहेको मेला स्थानीय तथा राष्ट्रिय कलाकारहरुले समेत सांगितिक प्रस्तुती गरेका थिए ।

गाउँमा खेलकुद मैदानको अभावका कारण जिल्लाका अधिकांस विद्यालयमा पठनपाठन बन्द गरी लामो समयसम्म पर्वको नाममा चल्ने मेलाले पठनपाठन अस्तब्यस्त हुने गरेको छ । विद्यालयभित्र रहेका खेलकुद मैदानमा हरेक बर्ष विभिन्न पर्वका नाममा चल्ने मेलाले नियमित पठनपाठनमा असर गरेपनि स्थानीय राजनीतिक दलमा आवद्ध यूवा, दलका नेताहरूका साथै शैक्षिक अगुवाहरूले समेत संरक्षण गर्ने गरेकाले मेलापर्वको नाममा विकृति बढेको विद्यालयका प्रधानध्यापकहरूले गुनासो गर्ने गरेका छन् ।

‘हामीले रोक्न सक्ने अवस्था छैन्, विद्यालयको शैक्षिक क्यालेन्डर नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ’ मेला सञ्चालन भइरहेको एक विद्यालयका शिक्षकले नाम नवताउने सर्तमा बेनीअनलाइनलाई भने । उनले स्थानीय लोपउन्मुख कला र संस्कृतिको जर्गेना गर्ने अभियान सकारात्मक भएपनि प्रतियोगितात्मक र ब्यापारिक स्टलले विद्यार्थीमा समेत नकारात्मक सन्देश प्रवाह भएको बताए । विद्यालय परिसरमा हुने मेलापर्वको नाममा मदिराको कारोबार, यूवा समुह विच झगडाले समाजमा द्धन्द्ध सृजना हुने गरेको बताए ।

बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विद्यालयमा ३ देखी १५ दिनसम्म मेला सञ्चालन हुने गरेका छन् । विद्यालय परिसर भित्र गरिने मेलाहरुलाई ब्यवस्थापनमा स्थानीयस्तरबाटै पटक पटक प्रयास भएपनि गाउँमा प्रयाप्त खेलकुद मैदानको अभावले बाध्य भएर मेला सञ्चालन गर्नुपरेको स्थानीय क्लवहरुको भनाई छ । ‘क्लवको लगाानीमा समेत विद्यालयभित्र पूर्वाधार बनेका छन्, खेलकुद मैदान, शिक्षकको तलव जुटाउने काम भइरहेको छ’ एक क्लवका पदाधिकारीले भने ।

उनले मेलापर्वहरुलाई विद्यालय बाहिर सञ्चालन गर्न खेलकुद मैदानका लागि जग्गा र बजेट आवश्यकता पर्ने बताए ।
मेलापर्वको नाममा विद्यालयभित्र हुने गतिविधि निरुत्साहित गर्न पटक–पटक शिक्षा समिति, स्रोतकेन्द्र मार्फत विद्यालय ब्यवस्थापन समिति समक्ष गरिएका अनुरोधलाई समेत बेवास्ता गर्ने गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए।

‘विद्यालयमा चलेका मेलाका बारेमा जानकारी कमै आउँछन्, आएकालाई हामीले विभिन्न सर्तहरू राखेर पठाउने गरेका छौ’ श्रेष्ठले भने । जिल्लामा मेलापर्वको नाममा विद्यालयको प्रयोग गरिने प्रचलन रहेको बताउँदै स्थानीय तहमा आएका जनप्रतिनिधिले कडाई गनुपर्ने जिशिअ श्रेष्ठको भनाई छ ।उनले मेला चलेका विद्यालयमा स्थानीय विदा, बर्खे विदा लगाएतका विदामा विद्यालय सञ्चालन गर्न दवाव दिएको बताए ।

सरकारी दरबन्दी नभएका, समुदायको स्रोतबाट शिक्षकको तलव, भौतिक पूर्वाधार विस्तार गरेका विद्यालयमा स्थानीय क्लवको दवाव ठेग्न नसक्दा विद्यालय प्रशासन निरिह हुनुपर्ने अवस्था रहेको छ ।गाउँमा खेलकुद मैदानको अभावले समेत विद्यालयमा मेला सञ्चालन गनुपर्ने बाध्यता रहेको आयोजकको भनाई छ ।

यता प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले नगरपालिका र गाउँपालिकाबाटै विद्यालयमा मेलापर्वको नाममा हुने गतिविधि रोक्नुपर्ने बताए ।उनले मेला सञ्चालनको अनुमति लिन आउने केही क्लवहरू नविकरण र दर्ता समेत नभएको अवस्थामा कानुनी प्रक्रिया पुरा गर्न अनुरोध गरेको बताए ।‘सबै अधिकार गाउँमै पुगेको छ । प्रशासनले मेला अवधिभर सुरक्षा ब्यवस्था मिलाउन सहकार्य गर्छ’ प्रजिअ अधिकारीले भने ।

उनले स्थानीय तहले समन्वय गरी मेला अवधि २ देखी ३ दिनसम्म तोक्नुपर्ने बताए । स्थानीयस्तरमा यूवा क्लवका साथै विद्यालयले समेत शिक्षक कर्मचारीको तलबको खर्च जुटाउने भन्दै मेला गर्ने गरेको छ ।माविस्तरमा सुन्य दरबन्दी भएका विद्यालयले चन्दा सङ्कलनका साथै खेलकुद प्रतियोगिता गरी निजी स्रोतका शिक्षकलाई तलब खर्च ब्यवस्थापन गर्ने गरेको छ ।यसैविच विद्यालयमा मेलापर्व रोक्न स्थानीय निकायबाट वडास्तरमा खेलकुद मैदानका लागि आवश्यक बजेटको माग समेत गरिएको छ ।