म्याग्दीका सामुदायिक विद्यालयमा पर्वका नाममा सञ्चालन हुने मेलालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बिहिबार बसेको बैठकले मेलापर्वको नाममा विद्यालय भित्र गरिने गतिविधिलाई पूर्ण रुपमा बन्द गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

बुधबार बेनीअनलाइनले विद्यालय बन्द गरेर मेला सञ्चालन भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । विद्यालयको शैक्षिक क्यालेन्डरमा समेत प्रत्यक्ष असर गर्ने गरी मेला सञ्चालन हुदाँ समेत सम्बन्धित निकाय मौन बसेको विषयमा समाचार प्रकाशित भएपछि सुरक्षा समितिको बैठकले विद्यालयभित्रको मेलालाई कडाई गर्न आवश्यक जिल्लाभित्रको सम्पुर्ण सयन्त्र प्रयोग गर्ने गरी निर्णय गरेको छ ।

विद्यालयभित्र मेला पर्वको नाममा कुनैपनि गतिविधिहरू विद्यालय भित्र सञ्चालन नगर्न जिल्ला शिक्षा कार्यालय मार्फत नगरपालिका र गाउँपालिकालाई लिखित जानकारी गराउने, मेला सञ्चालन पूर्व स्थानीय तहबाट समेत जिल्ला प्रशासन कार्यालय संग समन्वय गर्ने, मेला, जात्राका नाममा मदिरा उत्पादन तथा विक्री वितरणमा समेत रोक लगाउने लगाएतका निर्णयहरू गरेको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् ।

‘मेलापर्वको नाममा विद्यालयको प्रयोग धेरै हुने गरेको छ । शैक्षिक क्यालेन्डर समेत अस्तब्यस्त भएको पाइयो’ सुरक्षा समितिको निर्णय सुनाउँदै प्रनाउ खड्काले भनिन् । उनले विना अनुमति सञ्चालनको तयारीमा रहेका केही मेलालाई प्रहरीले हस्तक्षेप गरेको बताउँदै विद्यार्थीको भविस्यमा खेलवाड गर्ने कार्यलाई समुदायबाटै निस्तेज पानुपर्नेमा जोड दिईन्।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका प्रमुखले समेत जिल्लाभित्र मेलाको नाममा विकृति फैलिएको तथा विद्यालयलाई मेलाको केन्द्र बनाएकाले सम्बन्धित निकायमार्फत पहल सुरु गर्नुपर्ने बताएका थिए । ‘विद्यालय बन्द गरेर मेला सञ्चालन गर्ने कार्यलाई निरुत्साहित गर्न जिल्ला देखी गाउँसम्म सक्रिय हुनुपर्छ ।विद्यार्थीको भविस्य भन्दा ठुलो मेला हुनसक्दैन’ प्रजिअ अधिकारीले भने।

उनले स्थानीय कला र संस्कृतिको संरक्षणका लागि यूवा क्लवले दर्ता र नियमित नविकरण सहित कानुनी प्रक्रिया पुरा गरेपछि नगर तथा गाउँपालिकाबाट स्वीकृति लिएर सञ्चालन गर्नुपर्ने भएपनि धेरैजसो विना दर्ता, नविकरण र अनुमति विनै सञ्चालन भएको पाइएको बताउँदै मेलामा घटना भए त्यसको सम्पुर्ण जिम्मेबारी आयोजकले लिनुपर्ने बताए । उनले यस्ता विकृतिलाई निरुत्साहित गर्न जनप्रतिनिधिको सबैभन्दा ठुलो भूमिका हुने बताए । उ

नले सम्पुर्ण अधिकारी गाउँमै पुगेको अवस्थामा स्थानीय तहसंग सहकार्य गरी मेलापर्वको अवधीलाई समेत दुईतीन दिनमा सिमित गनुपर्ने बताए । प्रजिअ अधिकारीले बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पुगेर छलफल गर्ने तयारी समेत गरेको बताउँदै जिल्लाबासीबाट सहयोगको अपेक्षा समेत गरेका छन् । जिल्लाका अधिकांस विद्यालय मेलापर्वको नाममा ४ देखी १६ दिनसम्म बन्द हुने गरेका छन् । मेलापर्वमा बन्द भएका विद्यालयले स्थानीय विदामा समेत विद्यालय सञ्चालन नगर्दा विद्यार्थीको भविस्यमा गम्भीर असर गर्ने गरेको छ ।