सुविधा सहितको सेवाकेन्द्रको माग गदैं पाखापानीबासी आन्दोलित

0

रघुगंगा गाउँपालिकाको केन्द्रको विरोधमा पाखापानीबासी आन्दोलित भएका छन् ।अस्थायी केन्द्र पाखापानीलाई उपेक्षा गरी रघुगंगा–३ पिप्लेको मौवाफाँटमा केन्द्र तोकिएको विरोधमा गाउँपालिकाको अस्थायी कार्यालयमा तालाबन्दी गरिएको छ ।

दोस्रो गाउँसभाको बैठकले बहुमतका नाममा जनताको भावना विपरित केन्द्र तोकिएको विरोधमा आन्दोलन सुरु गरिएको वडा अध्यक्ष मन कुमार पुनले बेनीअनलाइनलाई बताए । ‘सेवाकेन्द्रमा आवश्यक सेवाहरु नदिए दुईचरणमा आन्दोलन गर्नेछौ । पाखापानी क्षेत्रका जनताको माग सम्बोधन हुनुपर्छ’ उनले भने । उनले सेवा केन्द्रको स्थापना गरी मालपोत, नापी, बन, स्वास्थ्य कार्यालयको स्थापना गरी नियमित सेवा उपलब्ध गराउनुपर्ने पाखापानीबासीको माग रहेको बताए ।

पाखापानी, झिँ र कुईनेमंगलेबाट हाल तोकिएको गाउँपालिकाको केन्द्रमा सेवा लिन जान निकै असहज हुने भन्दै दवावमुलक कार्यक्रम सञ्चालन भइरहेको छ । केन्द्रको विवाद अन्त्य गर्न पिप्लेको घुमाउने तालमा बसेको बैठकमा मौवाफाँट केन्द्रका लागि बेगखोला, भगवती, पिप्ले, दग्नाम, चिमखोलाका जनप्रतिनिधिले पक्षमा मतदान गरेका थिए भने झिँ, पाखापानीले नोट अफ डिसेन्ट लेखेका थिए ।त्यस्तै कुईनेमंगलेले पाखापानी केन्द्र हुनुपर्नेमा मतदान गरेका छन् ।

कुईनेमंगलेले सेवा केन्द्र सहित माथिल्लो क्षेत्रमा जनतालाई सहज प्रशासनिक कार्यका लागि कार्यालय स्थापनाको माग समेत गरेको थियो । गतबर्षको कात्तिक १९ गते स्थानीयतहपुनः संरचनाप्राविधिक सहयोग समितिले गलेश्वरको एक होटलमा गरेको संख्या र सिमानानिर्धारण सम्बन्धि गोष्ठीमा अस्थायी केन्द्र पाखापानीलाई तोकिएको थियो ।

यसैविच गाउँपालिका प्रमुख भव बहादुर भण्डारीले गाउँपालिकालाई सडक सञ्जाल, पुल लगाएतका संरचनाले जोड्ने गरी सम्बन्धित मन्त्रालयमा माग गरिएको बताए । उनले मन्त्रीहरु समेत सकारात्मक रहेकाले पनि सबै वडाका जनतालाई गाउँपालिकको सेवा सहज हुने बताए । उनले झिँ, पाखापानी र कुईनेमंगलेका जनतालाई सहज सेवा उपलब्ध गराउने गरी सेवामुलक कार्यालयको माग लाई निरन्तर उठाउने र सेवा केन्द्रको स्थापना गर्ने प्रतिबद्धता समेत जनाए ।