नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बेनी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि विधान विपरित भन्दै गत असार ६ गते बसेको महासंघको कार्यकारिणी समितिको बैठकले पदमुक्त गरेको थियो ।

सर्वोच्च अदालतले भदौ २७ गते दुवै पक्षलाई उपस्थिति भएर आफ्नो भनाई राख्न आदेश दिदैं निलम्वनको निर्णय यथास्थितिमा राख्न भनेको छ । महासंघले उपाध्यक्षमा भदौ १९ गते निर्वाचन गर्ने तयारी गरेको थियो । सर्वोच्चको आदेशले निर्वाचनको प्रक्रिया समेत रोकिएको छ ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा लोकप्रिय रहेका श्रेष्ठले महासंघका हस्तीहरुले समर्थन गरेका दिनेश श्रेष्ठलाई पराजित गरेर उपाध्यक्षमा निर्वाचित भएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष, अञ्चल संयोजक, खुल्ला तर्फबाट सबैभन्दा लोकप्रिय मत ल्याएर केन्द्रिय सदस्य हुदै उपाध्यक्ष पदमा निर्वाचित भएका श्रेष्ठलाई बेनी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएर विधानको उल्लंघन गरेको भन्दै हटाइएको थियो ।

श्रेष्ठलाई हटाइएपछि जिल्ला तथा नगर उद्योग वाणिज्य संघका तिब्र आक्रोश र असन्तुष्टि देखिएको थियो । जिल्ला तथा नगरबाट महासंघलाई पदमुक्त नगर्न दवाव दिएका थिए । अन्यायपुर्व विधानको गलत ब्याख्या गरेर हटाइएपछि श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । श्रेष्ठ जिल्ला नगरतर्फको उपाध्यक्षमा ५५ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी दिनेश श्रेष्ठले ४८ मत ल्याएका थिए ।