जिल्ला कारागार म्याग्दीका कैदीबन्दीमा पुस्तक सहयोग गरिएको छ । १० औ पुस्तकालय दिवसको अवसरमा बिहिबार म्याग्दी सामुदायिक पुस्तकालय, जिल्ला पुस्तकालय सञ्जालले कारागारका कैदीबन्दीलाई लक्षित गरी पुस्तकालय स्थापनाका लागि विभिन्न १ सय ६१ वटा पुस्तक, खेलकुदका साम्रागी हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले जेललाई विद्यालयको रुपमा प्रयोग गर्न कैदीबन्दीलाई अनुरोध गरे ।

‘पुस्तक झरनाको पानी जस्तै हुन्छ । यसलाई नियमित पिउन सिक्नुहोस्’ प्रजिअ अधिकारीले भने । उनले समाजलाई शिक्षित बनाउन सकेको भए कारागारको आवश्यकता नहुने बताउँदै फुर्सदको समयलाई अध्ययनमा प्रयोग गर्न सकेमा बाँकी जीवन सफल बनाउन सकिने बताए ।

सोही अवसरमा जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी विश्वप्रकाश रेग्मीले पुस्तकालय भित्र रहेका पुस्तकले जेलबाट निस्किएपछि समाजमा स्थापित हुन सहज हुने बताए । विश्वका चर्चित लेखकहरुले जेलबाट आफ्नो परिचय स्थापित गरेका छन् । सुधारगृहबाट आफ्नो नयाँ जीवनका थालनी गर्नुहोस्’ उनले भने ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, म्याग्दी सामुदायिक पुस्तकालयका निर्वतनमा अध्यक्ष धनञ्जय कुमार श्रेष्ठ, म्याग्दी पुस्तकालय सञ्जालका अध्यक्ष भक्त बहादुर कार्की लगाएतको उपस्थिती रहेको थियो । कैदीबन्दीले समय अनुकुलका पुस्तकहरु उपलब्ध गराउन अनुरोध गरेका थिए । त्यस्तै एसईई र उच्च माविमा अध्ययरत विद्यार्थीहरूलाई निशुल्क पुस्तक र भर्नाको ब्यवस्था गर्न समेत माग गरेका थिए । यसैविच सामुदायिक पुस्तकालयले स्थापना गरेको जेल पुस्तकालयलाई थप पुस्तक, फर्निचर लगाएतका साम्रागीहरुको समेत ब्यवस्थापन गरिने अध्यक्ष सन्तोष रावलले बताए ।

‘पुस्तकलाई नियमित थप गर्नेछौ, यहाँका सबै कैदीबन्दीलाई पुस्तकालयको प्रयोगका बारेमा जानकारी गराउँछौ’ उनले भने । यसैविच रुम टु रिड नेपालको आर्थिक तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको ब्यवस्थापनमा म्याग्दी जिल्लाका विभिन्न विद्यालयमा स्थापना गरिएको पुस्तकालयमा समेत विविध कार्यक्रमको आयोजना गरी पुस्तकालय दिवस मनाइएको छ । ‘समृद्ध नेपालको आधार पुस्तकालयको विकास’ भन्ने नाराका साथ हरेक विद्यालयमा विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको छ ।