तातोपानी बजारमा जमिन भासियो

0
315

बेनीनगरपालिका–४ तातोपानी बजारको जमिन भासिएको छ ।बजारमा ढल विस्तार गर्ने क्रममा तातोपानी कुण्डको माथिल्लो भागको करिव २० मिटर जमिन तल भासिएको हो ।

जमिन भासिएपछि कुण्ड जाने पदमार्ग, बेनी–दरवाङ सडक खण्डबाट तल्लो बजार जोड्ने सडकलाई समेत असर गरेको तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बेनीअनलाइनलाई बताए । ‘तत्काल मर्मतसम्भार नगरे कुण्डलाई असर गर्ने देखिन्छ ।सडक भासिएपछि माटोले पुरेर आवतजावतको ब्यवस्था मिलाइएको छ’ उनले भने ।जमिन भासिएपछि कुण्डको मुहानमा समेत असर गरेको उनले बताए ।

विगतमा समेत तातोपानी कुण्ड आसपासका क्षेत्रमा भासिएको कारण तातोपानीको मुहान सुक्ने, अर्को स्थानमा देखिएको शाक्यको भनाई छ ।जमिन भासिएपछि कुण्डको आम्दानीबाट समान्य मर्मत गरिएपनि थप मर्मतका लागि बेनी नगरपालिकालाई बजेट माग गरिएको समेत कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । जमिन भासिएको क्षेत्रमा ठुला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

कुण्ड आसपासका जमिन भासिएकाले पनि भविस्यमा तातोपानीको स्रोत नै बन्द हुने सक्ने भन्दै स्थानीयले भुर्गव विद्लाई लिएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।उता तातोपानी स्वास्थ्य चौकीमा समेत करिव ५० मिटर जमिन भासिएको छ ।

स्वास्थ्य चौकीको नवनिर्मित भवन आसपासको जमिन भासिएपछि भवनमा क्षतीको सम्भावना रहेको स्थानीय यूवा कुमार केसीले बताए। ‘बजार क्षेत्रको जमिन भासिएपछि स्थानीय त्रसित भएका छन् । थप क्षती हु नदिन तत्काल मर्मतको आवश्यकता छ’ उनले भने । भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तारका कारण जिल्लाका ग्रामिण बस्ती भासिने गरेको छ ।