पढेका भन्दा सुनेका र सुनेका भन्दा देखेका कुरा धेरै समयसम्म सम्झनामा रहन्छ । अझ आफ्नै रुचिअनुसार कुनै मनमोहक दृश्यमा सयर गर्नुले मनोरञ्जनसँगै पछिसम्मलाई ज्ञान दिन्छ ।  

धेरै मान्छे घुम्न निस्केका छन् । समय हुँदा घुम्नुपर्छ भन्ने सोचको विकास भएको छ । पहिले गोरो छाला देख्दा मात्र पर्यटक ठान्नेहरु स्थानीय पर्यटकको सत्कारमा पनि उसैगरी लागेका छन् । नेपालीको घुम्ने बानीको विकासले पुरानासँगै नयाँ गन्तव्य पनि चर्चामा आइरहेका छन् । चितवनको सौरहाका कारण सौरहासँगै मेघौली साथै नवलपरासीको अमलटारीमा पनि पर्यटक पुगेका छन् । यस्तै स्याङ्जाको सिरुवारी, काभ्रेको बल्थली, मकवानपुरको चित्लाङ, पर्वत, कास्की र स्याङ्जाको सीमामा पर्ने पञ्चासे, काठमाडौं चन्द्रागिरीलगायतका ठाउँमा पर्यटकको आकर्षण बढेको छ । यसले नै पुराना गन्तव्यसँगै नयाँ गन्तव्यको पनि विकास भएको छ । विशेष समयमा सक्रिय हुने धार्मिक पर्यटकले पनि आन्तरिक पर्यटनको विकासमा सहयोग पुर्याएका छन् ।

२०७३ साल आन्तरिक पर्यटन वर्षको रुपमा मनाएपछि पनि नेपालीहरुको घुम्ने बानीको विकास भएको नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत  सुधन सुवेदी बताउनुहुन्छ । ‘नेपालीहरु घुम्न निस्कने चलनको विकास भएको छ, आन्तरिक पर्यटकले पनि पैसा खर्च गर्छन् भन्ने कुरा स्थापित भएको छ । उदाहरणका लागि र्याफ्टिङ जाने त झण्डै ९० प्रतिशत नेपाली छन् । यसैगरी होमस्टे विकास भएका धेरै ठाउँमा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा पुग्ने गरेका छन्’ उहाँले भन्नुभयो ।

नेपालीको घुम्ने बानी पहिले पनि नभएको भने होइन । कति घुमे, कहाँ घुमे भन्ने कुरा सबैसामु ल्याउन भने कठीन थियो । अहिले सामाजिक सञ्जालको विकासले पनि मानिसहरुको घुम्ने रुचीलाई बढाएको छ । घुमेका ठाउँका बारेमा अरुलाई जानकारी दिन सघाएको छ । पछिल्लो समय खर्चका हिसाबले पनि बाह्य पर्यटकले भन्दा आन्तरिक पर्यटकले नै धेरै खर्च गर्ने गरेको पर्यटन बोर्डकै जनसम्पर्क तथा प्रचार व्यवस्थापक जितेन्द्र भट्टराई बताउनुहुन्छ ।

यस्ता छन् नेपालका केही गन्तव्य

खप्तड

खप्तडको प्रमुख गन्तव्य खप्तड राष्ट्रिय निकुञ्ज हो । निकुञ्ज पश्चिम नेपालको चार पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको छ । यसको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर रहेको छ । समुद्र सतहबाट २४ सयदेखि ३७ सय मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बिचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक । सँगै छन् २२ वटा आकर्षक फाँट ।

अरु समय हरियाली देखिने खप्तडमा पुस महिनापछि भने हिउँले ढाकेको हुन्छ । खप्तडका ठूला फाँटहरुमा फुल्ने विरङ्गी फूलहरु त्यहाँको विशेषता हो । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । काठमाडौंबाट कैलालीको धनगढीसम्म ६ सय ५० किलोमिटर बसमार्फत वा काठमाडौंबाट सिधै धनगढीसम्म हवाईजहाजमार्फत गएर धनगढीदेखि डोटीको सिलगढीसम्म बसमा त्यसपछि पैदल गएर खप्तड पुग्न सकिन्छ । जिप चल्ने समयमा भने रिजर्भ गरेर लान सकिन्छ ।

अन्नपूर्ण पदमार्ग

पत्रयात्राका सौखिनका लागि अन्नपूर्ण पदमार्ग राम्रो विकल्प हो । अन्नपूर्ण पदमार्ग नेपालीमाझ मात्र होइन विश्वभर चर्चित छ । लमजुङ सदरमुकाम बँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङको ताल, बगरछाप, चामे, थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा पूरा हुन्छ ।

कास्कीबाट पनि अन्नपूर्ण पदयात्रा शुरु गर्न सकिन्छ । ठाउँ ठाउँमा भएका विश्राम स्थलले पनि अन्नपूर्ण पदमार्गमा थकाई मार्न सहज हुन्छ । पदयात्रीका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको ५ हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा पर्यटकहरु आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको छ ।

मुस्ताङ

पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको संख्या मुस्ताङमा बढेको छ । माथिल्लो मुस्ताङसम्म नै गाडी चल्ने हुँदा पनि मुस्ताङमा पर्यटक बढेका छन् । हिमालपारीको जिल्लाको नामबाट चिनिने मुस्ताङ धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा रहेको छ । मुस्ताङ मुक्तिनाथ धामका कारण पनि चर्चामा छ ।

मुस्ताङको जोमसोमसम्म हवाई यात्रा गर्न सकिन्छ । म्याग्दी हुँदै गाडीबाट पनि जोमसोम पुग्न सकिन्छ । फरक जीवनशैली र खानपानका कारण पनि मुस्ताङ पुग्ने पर्यटकको आतिथ्य राम्रो हुने गर्दछ । जोमसोमको चिसो बतास, कागबेनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, नौतले गुफालगायत मनमोहक प्राकृतिक दृष्य तथा कोरला नाका प्रख्यात छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बुको उत्तरी भागमा छ । जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमाल तथा यस वरिपरिको क्षेत्र ओगटेको छ । यसको क्षेत्रफल १ हजार १ सय ४८ वर्ग किलोमिटर छ । सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचिकृत छ । निकुञ्ज १८ सय मिटरदेखि ४ हजार ४८ मिटरसम्मको उचाईमा रहेको छ ।

यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर, मोनाल, हॉइटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । यससँगै सगरमाथा पत्रयात्राका लागि आउने पर्यटक पनि उल्लेख्य छन् । सर्वोच्च शिखर आरोहणका लागि साथै आधार शिविरसम्मको पदयात्रा पनि पर्यटकको रोजाइँमा छ । काठमाडौंदेखि लुक्लासम्म हवाई यात्रा र त्यसपछि पैदल यात्रा गरेर सगरमाथा क्षेत्रमा पुग्न सकिन्छ ।

रारा

मुगुमा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । तस्बिरमा हेर्दै जाउँजाउँ लाग्ने आकर्षक स्थान हो रारा । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित छ रारा ताल । वरिपरि जंगलको बिचमा रहेको तालले घामको प्रकाशसँगै रङ बदल्ने गर्दछ । १० दशमलव ८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्बाई ५ किलोमिटर र अधिकतम चौडाई ३ दशमलव २ किलोमिटर छ भने गहिराई १ सय ६७ मिटर छ ।

प्रकृतिको उपहारको रूपमा रहेको राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीलेसमेत आकर्षक बनाएको छ । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १ सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा तालमा विश्वमै कहीँ नभेटिने स्नोट्राउट प्रजातिको माछा पाइन्छ । नेपालगन्जबाट हवाई यात्रापछि पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ ।

पुनहिल

चारैतिर गुराँसे जङ्गलले घेरिएको ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा बिहानीको सूर्योदयसँगै, हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन र कोलाहलमुक्त वातावरणमा रमाउन सकिन्छ । म्याग्दी घोरेपानी, पुनहिल क्षेत्र पोखरादेखि नजिक हुनुले पनि पर्यटक बढेका छन् । म्याग्दीको भुरुङ तातोपानी, मोहरेडाँडा, कास्कीको घान्दु्रक, उल्लेरी हुँदै घोरेपानीमा पुगेका पर्यटकको लागि पुनहिलबाट देखिने प्राकृतिक सौन्दर्यता, भौगोलिक बनावट र मनोरम हिमशृङ्खलाका दृष्यले पर्यटकको मन जितेको छ ।

बिहानीमा चम्कीला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको अवलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै दन्तलहर झै देखिने हिमचुचुरोको अवलोकन गर्न सकिने पुनहिल चैत वैशाखमा ढकमक्क फूल्ने लालीगुराँस र पुस, माघमा सेताम्मे हिउँ पर्दा थप आकर्षक देखिन्छ । पर्यटकीय नगरी पोखरादेखि कास्कीको नयाँपुल हुँदै एकै दिनको पैदलयात्रामा पुग्न सकिने पुनहिल विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटकहरुका लागि पनि प्रमुख गन्तव्य स्थल बनेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज

९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज बाघ हेर्नका लागि विशेष स्थान हो । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदीको बिचमा निकुञ्जका केही भागहरु पर्ने भएकाले निकुञ्ज आकर्षक छ । निकुञ्जको ७० प्रतिशन भूभाग साल र यसको सहायक प्रजातिका वनस्पतिले वन ढाकिएको छ । बाँकी ३० प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४ सय  प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइन्छन् ।

पूर्णरूपमा तराइ क्षेत्रमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण भए पनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन् । निकुञ्जसँगै थारु समुदायको मौलिक संस्कृतिले पनि बर्दिया जाने पर्यटकको सत्कारमा थप फाइदा पुगेको छ । पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जबाट दुई घण्टाको बस यात्रापछि बर्दिया पुग्न सकिन्छ । निकुञ्ज पूर्व–पश्चिम राजमार्गको अम्बासबाट १३ किलोमिटर टाढा छ ।ujyaaloonline.com