‘लभ्लीहिल’मा घुम्न गएकाले गरेको फोहोर वेष्ट पोइन्टका विद्यार्थीले सफा गरे (फोटो फिचर)

0

बेनी नगरपालिका–२ खबरास्थित रहेको लभ्लीहिलमा घुम्न गएकाहरूले फालेको फोहोर न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक बिद्यालयका विद्यार्थीले सफा गरेका छन् ।

सदरमुकाम बेनी नजिकको आर्कषक गन्तब्यको रुपमा चिनिएको लभ्लीहिलमा घुम्न जानेले गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्चका साथै आसपासका क्षेत्रमा गरेको फोहोर शनिबार विद्यार्थीको एक टोलीले सङ्कलन गरी नष्ट गरेको विद्यालयका खेलकुद शिक्षक दिपेन राईले बेनीअनलाइनलाई बताए ।

‘डस्विन नजिक फोहोर भेटियो, पर्यटकीयस्थलमा जथाभावी फोहोर देखेपछि विद्यार्थीले संकलन सुरु गरे‘ उनले भने । विद्यालयका प्रिन्सिपल डा लाल रापचा, शिक्षक र विद्यालयको होस्टेलमा बस्ने विद्यार्थीहरू घुम्न गएका थिए । विद्यार्थीले फोहोर संकलन गर्न थालेपछि घुम्न गएकाहरु चकित परेका थिए । विद्यार्थी र शिक्षकले जोखिम मोलेर भीरबाट समेत फोहोर संकलन गरेका थिए ।

लभ्लीहिल आसपासमा ६ बोरा फोहोर सङ्कलन गरेका थिए । गत आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा लभ्लीहिलमा पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बनेको छ ।

खबरामा रहेको लभ्लीहिल आन्तरिक र बाह्य पर्यटकका लागि मुख्य आकर्षणको केन्दै बन्दै जान थालेको छ । खासगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रुपमा परिचित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ । विद्यार्थीले घुम्न जानेले गरेको फोहोर संकलन गरेर सकारात्मक सन्देश दिएको  मिडिया हबका संयोजक कृष्ण जिसीले बताए । 

विद्यालयका विद्यार्थीले हरेक बर्ष धार्मिकस्थल गलेश्वर मन्दिरमा सरसफाई गनेै गरेका छन् । भक्तजनहरुले पुजा गर्ने क्रममा छोडेरको साम्रागी र फोहोरलाई विद्याथीले समुह बनाएर संकलन गर्ने गरेका छन् । विद्यार्थीको रचनात्मक कार्यलाई विद्यालयका शिक्षक र ब्यवस्थापन समितिबाट समेत सहयोग भइरहेको बताए ।

बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।