जिल्लाका साना तथा मझौला ब्यवसायीहरूलाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती शिविरबाट करिव एकहजार ब्यवसायी लाभान्वित भएका छन् ।आन्तरिक राजश्व कार्यालय पोखराको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको ब्यवस्थापनमा दुईदिने शिविरमा २३ लाख ८४ हजार राजश्व संकलन भएको छ ।

शिविरमा बार्षिक २० लाख रुपैयाँ सम्मको कारोबार र दुई लाख सम्म नाफा गरेका ब्यवसायीहरूबाट कर संकलनका साथै आवश्यक जानकारीहरु दिइएको आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत सुनिलराज देवकोटाले बताए । ‘शिविरबाट धेरै सेवाग्राही लाभान्वित भएका छन् ।ग्रामिण क्षेत्रका ब्यावसायीहरूको समस्यालाई समेत समाधान गरिएको छ’ देवकोटाले भने।

उनले जिल्लाको सदरमुकाम बेनी संगै ग्रामिण क्षेत्रका ब्यवसायीलाई समेत गाउँपालिकामै पुगेर कर शिक्षा दिएर भएपनि करको दायरामा ल्याउने बताए । कर अधिकृत बृद्धिराम बस्यालको नेतृत्वमा देवकोटा सहित ६ जना कर्मचारीको टोली खटिएका थिए ।

टोलीले साना तथा मझौला ब्यवसायीका साथै २० लाखभन्दा धेरै कारोबार गर्नेहरूलाई समेत प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।शिविरको अवसरमा भाडामा बसेर ब्यवसाय गर्ने ब्यवसायीहरूबाट भाडाको दश प्रतिशत बाहल संकलन गरिएको थियो । शिविरमा २० लाख रुपैयाँ सम्म कारोबार गर्ने नगरपालिका भित्रका ब्यवसायीले २ हजार ५ सय र गाँउपालिकाका ब्यवसायीले बार्षिक एक हजार पाँच सय कर तिरेका थिए ।

शिविरमा ब्यवसायीबाट कारोबारको विवरण समेत संकलन गरिएको थियो । जिल्लामै कर तिर्ने सुबिधाले ब्यवसायीलाई राहत मिलेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताए । दुईदिन सम्म कर तिर्ने ब्यवसायीहरुको भीड लागेको थियो । भ्याट र प्रालिमा दर्ता भएका फर्म तथा उद्योगलाई प्राविधिक सहयोग उपलब्ध गराउने भएपनि कर बुझाउन पोखरा जाने गरेका छन् ।