नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको १२औं जिल्ला अधिवेशन शनिबारदेखि सदरमुकाम बेनीमा सुरु भएको छ ।  अधिवेशनको उद्घाटन गर्दै सङ्गठनका केन्द्रीय महासचिव लक्ष्मण शर्माले शिक्षकहरुले आफ्नो पूर्णरुपमा जिम्मेवारी निभाए पनि अझै शिक्षण पेशा अनुसारको सेवासुविधा पाउन नसकेको गुनासो गरेका छन् ।

उनले समाजका कलिला बालबालिकाहरुमा ज्ञानको ज्योती दिएर उनीहरुलाई राष्ट्रको कर्णधार बनाउन लागिपरेको बताउँदै शिक्षकका समस्या समाधानमा राज्य उदासीन बनिरहेको आरोप लगाए ।  सोही कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले देशको राजनीतिक परिवर्तनमा शिक्षकहरुले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका थिए ।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले शिक्षकहरुले आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताउँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रमको अवसरमा मणिस्मृति शिक्षा पुरस्कारबाट गलेश्वर माध्यमिक विद्यालय तोरीपानीका प्रधानाध्यापक रामप्रसाद सुवेदी र सुरेश स्मृति शिक्षा पुरस्कारबाट सिद्ध आधारभूत विद्यालय निस्कोटका अमरसिङ पुनलाई सम्मान गरिएको छ ।

यसैगरी लामो समयसम्म शिक्षण पेशामा आबद्ध भई सो पेशाबाट राजीनामा दिएर गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु थमसरा पुन, लक्ष्मण बानियाँ, गोविन्द पौडेल, दयासागर शर्मा, नरसिङ पुन, कलानिधि पौडेल र बेगप्रसाद घर्तीलाई सम्मान गरिएको छ ।

त्यस्तै शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक सेवामा प्रवेश गर्ने शिक्षकहरु लालमाया छन्त्याल, देवी तिलिजा र लक्ष्मीप्रसाद वाग्लेलाई पनि सम्मान गरिएको छ । त्यसैगरी विभिन्न २२ जनालाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आजीवन सदस्यता प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला सदस्य कृष्णप्रसाद सापकोटा उक्त सङ्गठन परित्याग गरी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा प्रवेश गरेका छन् । 

कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य जंगबहादुर गर्बुजा, पूर्वअध्यक्ष रामप्रसाद सुवेदी, पेशागत महासंघका जिल्ला अध्यक्ष भक्त कार्की, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी, अखिल नेपाल शिक्षक सङ्गठनका गोविन्द पौडेल, नेपाल निजामति कर्मचारी सङ्गठनका अध्यक्ष भोजबहादुर थापा, प्याब्सुका अध्यक्ष खेमराज सुवेदी र अनेरास्ववियुका जिल्ला उपाध्यक्ष ईश्वर सुवेदीले मन्तव्य राखेका थिए । 

अधिवेशनको उद्घाटनसत्र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन म्याग्दीका अध्यक्ष बालकुमार रोकाको अध्यक्षता, उपाध्यक्ष थममाया पुनको स्वागत र सचिव जयराम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले बन्दसत्र सुरु भएको हुँदा राती अबेरसम्म सङ्गठनको नयाँ कार्यसमिति चयन हुनसक्ने बताइएको छ । तस्बिरहरु ः कृष्णप्रसाद सापकोटा