प्रहरी भन्दै गाजने गाउँमा लुटपाट

0
334

गाजनेका चारवटा घरमा लुटपाट म्याग्दीको बेनी नगरपालिका–५ गाजने गाउँको चारवटा घरमा शनिबार राती ८ बजे लुटपाट भएको छ । स्थानीय विष्णुकला शर्मा, निलकण्ठ शर्मा, कृष्ण कार्की र सीता कार्कीको घरमा लुटपाट भएको गाजनेबाट यामबहादुर बानियाँले टेलिफोनमा जानकारी दिनुभएको छ ।

हुट, जिन्सको पाइन्ट, छातेटोपी, जुत्ता, र ओटी माक्स लगाएका तथा झोला भिरेका ३ जनाको समूहमा बाँडिएर चार घरमा पालो गरेर लुटपाट गरेको पीडित निलकण्ठ शर्माले बताउनुभयो । उहाँका अनुसार आफूलाई लुटपाट गर्नेहरुमध्ये दुई जनाको हातमा खुकुरी समेत रहेको छ भने उनीहरुले मोबाइल र टर्चलाईट समेत लगेका छन् ।

सीता कार्कीको घरबाट चारतोला सुन, रुपा कार्कीको साथबाट २५÷२५ लालको दुईवटा रिङ, विष्णुकला र उनको छोरी सन्तु शर्माको साथबाट एकएक तोला सुन लगिदिएका छन् । यसैगरी निलकण्ठ शर्माको साथबाट नगद १ हजार तीनसय रुपैयाँसहित आधा तोलाको औंठी खोसेर लगेको छन् । लुटपाट भएको घरबाट नगद लगे पनि कसको घरबाट कति पैसा लगेको भने थाहा नभएको स्थानीयले बताएका छन् ।

हामी प्रहरी हौं, हाम्रो १८ जनाको टोली आएको छ यस गाउँमा सबैले गाजा र चरेस खान्छन् रे भन्ने थाहा पाएर हामी आएको भन्दै लुटपाट शुरु गरेको पीडित सीता कार्कीले बताउनुभयो । रातको समयमा गाउँका घरघरमा छिरेर लुटपाट मच्चाएपछि अहिले गाजने गाउँका वासिन्दाहरु त्रसित भएका छन् । गाउँका स्थानीय र पीडितहरु एक ठाउँमा भेला भएर बसेको उनीहरुले बताए । लुटेराहरु वनजङ्गलतर्फ लागेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

घटना घटेलगत्तै पीडितले प्रहरीमा खबर गरेका थिए । यसैबीच गाजने गाउँबाट आफूलाई सवा ९ बजे लुटपाट भएको खबर प्रहरीमा आएको र प्रहरी कार्यालबाट सईसापको कमाण्डमा प्रहरी टोली घटनास्थल परिचालन गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो । लुटपाटको सूचना पाएलगत्तै बाबियाचौर, गलेश्वरलगायत जिल्लाको विभिन्न ठाउँमा रहेका प्रहरीचौकी र नाकामा जानकारी गराइएको उहाँले बताउनुभएको छ ।