तातोपानी कुण्ड प्रकृतिको अनुपम उपहार

0
476

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले तातोपानी कुण्ड प्राकृतिक अनुपमको उपहार भएको बताएका छन् । बेनी नगरपालिका–४ तातोपानीमा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिको सोमबार सातौं वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

विगतको तुलनामा अहिले तातोपानी कुण्डको धेरै सुधार भएको भन्दै उनले यसको विकासका लागि थप संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । कुण्ड विकास गर्न जिल्ला समन्वय समितिको तर्फदेखि आवश्यक सहयोग तथा पहल गर्ने प्रतिबद्धता जनाउँदै अधिवेशनबाट सक्षम, सबल, दक्ष र चुस्तदुरुस्त समिति निर्वाचित भएर आउनुपर्ने प्रमुख केसीको भनाई छ ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगर क्षेत्र पर्यटनका हिसाबले धेरै सम्भावनायुक्त क्षेत्र भएको बताएका छन् । उनले प्राकृतिक तातोपानी कुण्ड पर्यटकहरुको प्रमुख आकर्षणको गन्तव्यका रुपमा रहेको बताउँदै कुण्डको प्रचारप्रसार, संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले दानी दानदाताहरुबाट प्राप्त हुने आर्थिक सहयोगको समुचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै कुण्ड सञ्चालन र व्यवस्थापनमा आफूले स्थानीय प्रशासनको तर्फदेखि सक्दो सहयोग गर्ने बताएका छन् ।

मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले तातोपानी कुण्डको आवश्यक प्रचारप्रसार गरेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्नेमा जोड दिएकी छिन् । बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले कुण्डमा नुहाउन आउने बिरामीको भीडलाई मध्यनजर गरेर यसको क्षमता विस्तारमा ध्यान दिनुपर्ने बताएका थिए । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले तातोपानी कुण्ड नदी कटान, जमिन भासिनेजस्ता प्रकोपका कारण जोखिममा परेकाले संरक्षणका लागि भू–गर्भविद्लाई बोलाएर अनुसन्धान गर्नुपर्ने बताए ।

कुण्डले गत आर्थिक वर्ष २०७३÷७४ अघिल्लो आर्थिक वर्षको अल्यासहित कुल ८८ लाख ९३ हजार ६८ रुपैयाँ आम्दानी, ६३ लाख ९३ हजार ६८ रुपैयाँ खर्च र २५ लाख १९५ रुपैयाँ बैंक मौज्दात रहेको जनाएको छ । आम्दानीतर्फ ३२ लाख रुपैयाँ प्रवेश शुल्क, चन्दा सहयोग १८ लाख ९७ हजार २५७, पर्यटन कार्यालय पोखराबाट नौलाख ६१ हजार ५९३, आजीवन सदस्यता शुल्क तीनलाख ३१ हजार २६६ र विविध दुईलाख २० हजार ५६६ रुपैयाँ रहेको बताइएको छ ।

यसैगरी खर्चतर्फ सरस्वती माध्यमिक विद्यालयका १० जना शिक्षकहरुको वार्षिक तलब÷भत्ता, कुण्ड व्यवस्थापन, कर्मचारी, बजार क्षेत्रको ढल निकास, भैपरी, लेखापरीक्षण, नवीकरण एवं स्टेशनरी लगायतका विविध शीर्षकमा खर्च गरिएको जनाइएको छ ।

कार्यक्रममा कुण्ड व्यवस्थापन समितिका सचिव मीनबहादुर बानियाँले प्रगति र कोषाध्यक्ष विष्णुदत्त शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव कमल खत्री, सरस्वती मावि तातोपानीका प्रधानाध्यापक सुरत बानियाँ, समाजसेवी तुलप्रसाद श्रेष्ठ र प्रभात प्राथमिक विद्यालय सिमलचौरका शिक्षक गणेशबहादुर बानियाँले मन्तव्य राखेका थिए ।

अधिवेशनको उद्घाटनसत्र तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको अध्यक्षता, सहसचिव कृष्ण खड्काको सञ्चालन र कार्यसमिति सदस्य रामप्रसाद अधिकारीको स्वागतमा सम्पन्न भएको थियो । अधिवेशनबाट कुण्डको नयाँ कार्यसमिति चयन गरिने भएको छ ।