बेनी नगरपालिका–२ ज्यामरुककोटको खान्दुलामा अनियमित विद्युत कटौती र डिम लाइनले स्थानीयबासीले हैरानी खेप्नुपरेको छ । सदरमुकाम नजिक रहेको खान्दुलामा दैनिकजसो मधुरो लाईनले घरायसी, विद्युतको प्रयोगमा चल्ने मेसिन लगाएत विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको स्थानीय यूवा महेन्द्र सुबेदीले बताए ।

‘विद्युतले कामै गदैन, पोलहरु पनि जिर्ण छन्’ सुबेदीले भने । उनले सदरमुकाम बेनी हुदै विस्तार गरिएका विद्युतका पोल फेर्नुका साथै भोल्टेजमा सुधार ल्याउने गरी ज्ञापनपत्र बुझाउने तयारी गरिएको बताए ।‘विद्युत नाममात्रैको छ, पटकपटक जान्छ’ स्थानीयले गुनासो गरे । सदरमुकाम नजिकको गाउँ भएपनि सरकारी निकाय र जनप्रतिनिधिहरुबाट समेत अपेक्षा गरे अनुसारको सहयोग नभएको स्थानीयको भनाई छ ।

सडक सञ्जालले जोडिएपछि विद्युतीय मिल सहित अन्य उपकरणहरुको जडान गरी स्थानीयले आयर्आजन गर्ने खोजेपनि विद्युतमा देखिएको समस्याले योजनाहरु अलपत्र अवस्थामा रहेका छन् । खान्दुलामा २५ घरघुरी रहेको छ । खान्दुलामा खानेपानी, सडक विस्तार सहित विभिन्न समस्याहरु रहेका छन् ।यता बेनी नगरपालिकका प्रमुख हरि कुमार श्रेष्ठले विद्युत पोलका बारेमा विद्युत प्राधिकरणलाई जानकारी गराइसकेको छ ।