महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको ११औं राष्ट्रिय दिवस मनाइएको छ । दिवसको अवसरमा मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको विषयमा अन्तत्र्रिmया र छलफल गरिएको थियो ।

कार्यक्रमको अवसरमा म्याग्दी जिल्लाका सरोकारवाला निकायका व्यक्तिहरुले मानव बेचबिखन न्युनीकरणमा जोड दिनुपर्ने बताएका छन् । उनीहरुले समाजमा घट्ने मानव बेचबिखन तथा ओसारपोसारका विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले आफ्नो पैसा खर्चेर विदेश जाने अधिकांश विद्यार्थीहरु मानव बेचबिखनमा पर्ने गरेको बताए । उनले कोही कसैले पनि आफ्नो घरमा कामदारका रुपमा कुनै पनि बालबालिकाहरुलाई राख्न नहुनेमा जोड दिँदै मानव बेचबिखन र ओसारपोसारका विरुद्ध सबैले आवाज उठाउनुपर्ने बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले मानव बेचबिखन तथा ओसारपोसारको न्युनीकरण गर्नका लागि सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।

उनले सामाजिक बिकृति, बिसङ्गतिको न्युनीकरणमा लाग्न विद्यार्थीहरुलाई सुझाव दिँदै विद्यालयस्तरमा हुने लामो अवधिका मेला, पर्व र जात्राको अन्त्य गर्नुपर्ने बताएका छन् । नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले आर्थिक एवं मानसिक रुपमा कमजोर बालबालिकाहरु बेचबिखनमा पर्ने गरेको बताउँदै राज्यले वैदेशिक रोजगारलाई प्रोत्साहन गरिरहँदा मानव बेचबिखनमा टेवा पुगेको आरोप लगाएका थिए ।

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले नेपालले हस्ताक्षर गरेका मानव बेचबिखन विरुद्धका कतिपय सन्धी सम्झौताहरु कार्यान्वयन हुनुपर्ने बताए । उनले पछिल्लो समय म्याग्दी जिल्लाबाट वैदेशिक रोजगारका लागि भन्दै डिपेन्डेन्सी भिसामा जानेको सङ्ख्या बढेकाले त्यसलाई राजनीतिक तहबाट समाधान गरिनुपर्ने बताए ।

उक्त कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्र प्रस्तुत गर्दै उनले महिला तथा बालबालिकाहरु मूलतः यौन शोषणका लागि बेचबिखनमा पर्ने गरेको हुँदा मानव बेचबिखन न्युनीकरण गर्न नेपालले मात्रै नसक्ने भएकाले अन्तर्राष्ट्रिय समुदाय पनि लाग्नुपर्ने बताइन् ।

प्रजिअ अधिकारीको अध्यक्षता, महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख भूवनबहादुर मल्लको स्वागत र सहायक महिला विकास निरीक्षक विन्दु शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र विद्यालयका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याइसकेको छ । संविधानले नै मौलिक हकमा कसैलाई पनि बेचबिखन गर्न वा दास बनाएर राख्न नपाइने व्यवस्था गरेको छ। तर अझै पनि गरिबी, अशिक्षा, बेरोजगारी, देखासिकी, असुरक्षित आप्रवासन, लैंगिक हिंसा तथा प्राकृतिक प्रकोपका कारण आफ्नो बासस्थानबाट विस्थापित हुँदा महिला तथा बालबालिका बेचबिखन र ओसारपसारको जोखिममा पर्ने गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा आर्थिक वर्ष २०७२÷७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ । नेपालमा बेचबिखनमा पर्नेमध्ये सयमा ९८ जना महिला छन् । सार्कको ११औं सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्घको सार्क महासन्धी २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट २०६३ भदौ २० गते अनुमोदन गरिएपछि त्यही दिनको सम्झनामा २०६४ सालदेखि मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय स्तरमा भने जुलाई ३० तारिखमा यो दिवस मनाउने गरिएको छ ।