बेनी–जोमसोम सडकमा रातको समयमा यातायात सञ्चालनमा बन्द गरिएको समय अवधि थप गरिएको छ । सडक खण्ड अन्र्तरगत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतह समेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गते देखी भदौ १५ गतेसम्म बेलुकी ५ः३० देखी विहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो । भदौ ३१ गतेसम्म तोकिएको समयमा सवारीसाधन सञ्चालन गरे कारवाही गरिने छ ।

हिजो सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको यातायात ब्यवस्थापन समितिको बैठकले समय अवधिलाई भदौको अन्तिमसम्म थप गर्ने प्रस्तावमा सुरक्षा निकाय, यातायात ब्यवसायीले समेत सहमति जनाएका थिए । रातको समयमा सवारीसाधन सञ्चालन गर्दा मानवीय जोखिम बढेपछि समय अवधि तोकेर यातायात बन्द गर्ने निर्णयको सरोकारवाला निकायले समेत स्वागत गरेका थिए ।

७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ ।‘अन्नपूर्ण गाउँपलिका–३ दानाको गुईठेभीर, दानाकै काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ मा खसेको पहिरोले यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सडकखण्ड अन्र्तरगत पर्ने खोलाको सतह समेत घटेको छैन् । म्याग्दी खण्डमा धेरै पहिरोले सताएको छ’ बेनी–जोामसोम–सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनले भने ।

उनले म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३ गुईठेभीर,घट्टेखोला, काभ्रेभीरमा खसेको पहिरो पन्छाउन निकै समस्या हुने गरेको छ। गतबर्ष बेगखोलामा आएका बाढीले बस्ती, बेलिब्रिज बगाएपनि सम्बन्धित निकायले खोलामा पक्की पूल बनाउने तर्फ ध्यान नदिदाँ सवारीसाधनका साथै पदैलयात्रीलाई समेत सास्ती भएको स्थानीयबासीको भनाई छ । आज देखी सुरु भएको स्रोहश्राद्धमा रातको समयमा समेत जोखिम मोलेर यात्रा गर्ने सम्भावना समेत रहेको थियो । त्यस्तै मुस्ताङका स्याउ ढुवानीमा समेत रातको समयलाई समेत प्रयोग गर्ने गरिएको थियो ।