राम्रा/नराम्रा बानी, व्यवहार र विचार सबैका हुन्छन् । ती विचार र व्यवहार हाम्रो आफ्नै बानीबाट हुने गर्दछ । कसैले बानी व्यवहार परिवर्तन गर्न सक्छन्, कसैले सक्दैनन् । बानी व्यवहार नकारात्मक बन्दै गए हामी सफलता हासिल गर्न सक्दैनौँ । त्यसैले सकेसम्म हामीले आफ्नो नराम्रो बानी र व्यवहारमा परिवर्तन गर्नुपर्छ ।

आजको दिन, आजको काम र आजको व्यवहारलाई नै महत्व दिएर हेर्नुपर्छ । सानालाई माया र ठूलालाई आदर गर्ने बानी बसाल्नुपर्छ ।

क्षमताभन्दा बढी काम गर्नु हुँदैन । क्षमताभन्दा बढी कार्यबोझबाट नै शरीरमा उच्च रक्तचाप, हृदयाघातजस्ता रोग लाग्ने हुन्छ । यसबाट नकारात्मक सोचहरू उत्पन्न हुन्छन् ।

हाम्रो दिमागमा सकारात्मक भावना जागृत गराउन सुत्ने र उठ्ने बानी एकदम व्यवस्थित हुनुपर्छ । बेलुका चाँडै सुतेर बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । हाम्रो शरीरलाई ५ देखि ७ घन्टाको गहिरो निद्रा आवश्यक हुन्छ । निद्रा राम्रोसँग नपरेमा मुटुमा रोगहरू बढ्दै जान्छन् र दिमागमा बोझ बढ्छ । त्यसले गर्दा रक्तचाप, ब्लडप्रेसर, सुगर बढ्छ । साथै, हृदयाघात हुने सम्भावना पनि हुन्छ ।

बिहान उठेर नियमित व्यायाम गर्नुपर्छ । जसले गर्दा हाम्रो शरीरमा सकारात्मक कुराहरू आउँछन् । शरीर स्वच्छ र हल्का हुन्छ ।

चुरोट, सुर्ती र रक्सी पिउने बानी त्याग्नुपर्छ । यस्ता बानीले हाम्रो शरीरमा नकारात्मक सोचको विकास हुन मद्दत गर्छ ।

किताब पढ्ने बानी बसाल्नुपर्छ । नियमित रूपमा किताब  पढ्ने बानी भएका व्यक्तिको जीवन बढी व्यवस्थित हुन्छ । आफ्नो कुनै नराम्रा कुराले अरूलाई असर गरेको छ भने त्यस्ता कुरा तत्काल छोड्नुपर्छ । नयाँ पत्रिकाबाट