निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक निर्माण गर्न लागिएको घलेम्दीखोला जलविद्युत आयोजनाको मुख्य काम सुरुङनिर्माण सकिएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको सुरूङ निर्माणकार्य पुरा गरिएको हो ।

२०७१ सालबाट निर्माण थालिएको आयोजनाको आउटलेटतर्फ १ हजार र इनलेटतर्फबाट झण्डै ७ सय मिटर सुरुङ खनिएको घलेम्दीखोला जलविद्युत आयोजनाले जनाएको छ । घलेम्दी हाईड्रो लिमिटेडद्वारा निर्माण भैरहेको सो आयोजनाको १ हजार ६९७ मिटर लामो सुरुङ (टनेल) निर्माण गरिएको घलेम्दीखोला जलविद्युत आयोजनाका अध्यक्ष किशोर सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार आयोजनाको इन्टेकतर्फ करिब ७५ प्रतिशत काम सकिएको छ भने विद्युत पावरहाउसतर्फ पेनस्टक पाइप अलाइमेन्टको काम सकिएको छ । यसैगरी पावरहाउसको जग खन्ने काम सकिएको छ भने पावरहाउस सुरक्षाका लागि पक्की पर्खाल निर्माण गरिसकिएको उहाँले जानकारी दिनुभयो । इन्टेकमा डाइभर्सनको ५० प्रतिशत कामसम्पन्न भएको छ । त्यस्तै बालुवा थिग्राउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणलगायतका कामहरु सकिएको अध्यक्ष सुवेदीको भनाई छ ।

अन्नपूर्ण हिमालको फेदीमा रहने बाँधसम्म सडकको पहुँच नभएको हुँदा मजदुरले पिठ्युँ तथा खच्चडमार्फत सामान बोकाएर ढुवानी गरिँदै आएको थियो । विद्युतगृहको छेउसम्म मात्रै सडकको पहुँच पुगेको छ । रोपवेमार्फत करिब २०० मिटरमाथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरिएको छ । नेपाली सेना र प्रहरीको निगरानीमा बिस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खनिएको आयोजनाले जानकारी दिएको छ ।

सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिने घलेम्दीखोला जलविद्युत आयोजनाका कम्पनी सचिव बिमल रिजालले बताउनुभयो । हालसम्म आयोजनाको पूर्वाधार निर्माणको झण्डै ७५ प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो । घलेम्दीखोला जलविद्युत आयोजना म्याग्दीका उद्योगी, व्यापारी र सर्वसाधारणको लगानीमा निर्माण गर्न लागिएको हो । आयोजना चालु वर्षको चैत मसान्तभित्र निर्माणसम्पन्न गरी विद्युत परीक्षणको उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी विकास बैङ्कको अगुवाइमा लुम्बिनी टुरिजम विकास बैङ्कको ५० करोड लगानी रहेको छ । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक साढे १३ करोड रुपैयाँ बरावरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने जनाइएको छ ।