बेनी नगरपालिका–४ सिंगालाई शुक्रबार साक्षर वडा घोषणा गरिएको छ । ३८ औ शिक्षा तथा अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा धौलागिरि माविमा आयोजित कार्यक्रममा वडामा बसोबास गर्ने १५ देखी ५९ बर्ष उमेर समुहका कुल जनसङ्ख्याको ९६ दशमलब ८९२ प्रतिशत नागरिकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि साक्षर वडा घोषणा गरिएको हो ।

७५२ घरधुरी रहेको वडामा ४ हजार ३२ जना जनसंख्या रहेकोमा सतप्रतिशतका लागि थप कार्यक्रमहरु सञ्चालन गरिने स्रोतब्यक्ति केशवप्रसाद रेग्मीदे बताए । माध्यामिक विद्यालयले बनाएको घरधुरी सर्वेक्षणको आधारमा साविकको सिंगा गाविसका सबै घरधुरीको जनसंख्याको तथ्याङ्क संकलन गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले कार्यक्रमका सहभागीहरुलाई साक्षर वडा घोषणाको शपथ खुवाएका थिए ।

समाजका सबै नागरिकहरु साक्षर भएमा मात्रै विकासले फड्को मार्ने बताउँदै दीगो विकासका लागि शिक्षाको प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । म्याग्दीलाई यसबर्ष साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार नगरपालिका सहित जिल्लाका सबै गाउँपालिकाको वडालाई साक्षर घोषणा गर्ने कार्यक्रमले तिब्रता पाएको छ ।