नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा  उत्तरी क्षेत्रअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गएको बैशाख ३१ सम्पन्न पहिलो चरणको स्थानीय तहको चुनाबमा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान तथा प्रशिक्षण गरिएको हो ।

कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य नवराज शर्मा, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, पार्टी सचिव बालकृष्ण सुवेदी, पूर्व अञ्चल सदस्य खुमबहादुर बानियाँ, जिल्ला सदस्य श्याम राना, गाउँपालिका सङ्गठन कमिटी संयोजक गोकुल बरुवालले निर्वाचित प्रतिनिधिलाई अबिरको टिका र खादा लगाएर बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै सांसद नवराज शर्माले केपी शर्मा ओलीको सरकार आएपछि कालीगण्डकी करिडोरमा ६ अरब बजेट विनियोजन गरिएको बताए । उनले बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वर, बेगखोला, तिप्ल्याङ लगायतका विभिन्न ठाउँमा ६ ओटा पक्की पुल बन्ने क्रममा रहेको बताउँदै ओली सरकारकै पालामा म्याग्दीको दानामा रहेको विद्युत सव–स्टेशनको काम शुरु गरिएको जानकारी दिएका छन् ।

सांसद शर्माले आफू जनप्रतिनिधिको रुपमा निर्वाचित भएपश्चात् जिल्लामा यातायात, शिक्षा, स्वास्थ्यसहितका विभिन्न क्षेत्रको विकास निर्माणका लागि नीति, कार्यक्रम र योजना बनाई बजेट विनियोजन गर्नुका साथै विकासका लागि पहल गरिएको बताएका थिए ।

उनले स्थानीय तहमा आउने बजेटको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउँदै जनताप्रति उत्तरदायी भएर आफ्नो जिम्मेवारी वहन गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् । सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले स्थानीय तहको पहिलो निर्वाचनमा केही स्थानीय तहमा पराजय भोग्नु परेपनि प्राप्त मतका हिसाबले जिल्लामा सबैभन्दा ठूलो पार्टी नेकपा एमाले भएको दावी गरे ।

उनले नेकपा एमालेको पहलमा देश र जनताले लामो समयको अन्तरालपछि संविधान पाएको भन्दै ऐन कानुन निर्माण गर्ने क्रममा आफ्नो पार्टीले खेलेको भूमिकाका कारण स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएको बताए । एमाले जिल्ला उपाध्यक्ष एवं समन्वय समितिका प्रमुख देवेन्द्र केसीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताको समस्या र गुनासालाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले नेकपा एमाले सरकारमा पुगे जनताको पक्षमा काम गर्ने बताउँदै आगामी निर्वाचनबाट सबैभन्दा ठूलो दल भएर पुनः सरकारको नेतृत्व गर्ने र फेरि जनमुखी कामहरु गर्ने बताए । एमाले धौलागिरि अञ्चल कमिटीका पूर्व सदस्य खुमबहादुर बानियाँले आगामी निर्वाचन एमालेको पक्षमा पार्नेगरी स्थानीय स्तरमा खट्न कार्यकर्तालाई अनुरोध गरे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका नवनिर्वाचित जिल्ला अध्यक्ष जयराम सुवेदी, अन्नपूर्ण–३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पूर्जा र जिल्ला समन्वय समितिका सदस्य बोमाया गर्बुजाले मन्तव्य राखेका थिए । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका सङ्गठन कमिटीका संयोजक गोकुल बरुवालको अध्यक्षता, जिल्ला सदस्यद्वय तेजबहादुर गुरुङको सञ्चालन र श्याम रानाको स्वागतमा सम्पन्न भएको थियो ।