म्याग्दी बौद्ध संघको पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः यजनलाल शाक्य

0
230

म्याग्दी बौद्ध संघको शनिबार सदरमुकाम बेनीमा सम्पन्न आठौं साधारणसभा तथा पाँचौं अधिवेशनले पुनः यजनलाल शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा भूलमाया तिलिजा, सचिवमा याम शाक्य, कोषाध्यक्ष कुविरकुमार श्रेष्ठ र सहसचिवमा रन्जिता भट्टचन निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा खेम छन्त्याल, सुन्दरमान शेरचन, विष्णु गुरुङ, हरि शाक्य, सुविन श्रेष्ठ र दिलकुमारी पूर्जा रहेको म्याग्दी बौद्ध संघले जनाएको छ । यसैगरी महिला बौद्ध संघको अध्यक्षमा टकसरा राना, उपाध्यक्षमा सुशिला शाक्य, सचिवमा रेनुका बज्राचार्य, कोषाध्यक्षमा आशमाया शाक्य, सहसचिवमा मुना शाक्य र सहकोषाध्यक्षमा कल्पना पुन रहेका छन् ।

सदस्यहरुमा लाली थापा, भगवती शाक्य, अमृता शाक्य, रामकुमारी गौचन, टमाया गर्बुजा निर्वाचित भएका छन् । त्यस्तै युवा बौद्ध संघको अध्यक्षमा सचिन शाक्य, उपाध्यक्षमा लोकबहादुर पुन, सचिवमा खम थापा, कोषाध्यक्षमा जेनेश श्रेष्ठ, सदस्यमा नन्दु पाईजा, दुर्गा बुढामगर, रुविन श्रेष्ठ, हरिकृष्ण गौतम, याम विक र प्रदीप बज्राचार्य रहेका छन् ।

यसअघि भएको अधिवेशनको उद्घाटनसत्रमा बोल्ने वक्ताहरुले समाजमा भगवान् बुद्धको उपदेश र बौद्ध शिक्षा फैलाउनुपर्नेमा जोड दिँदै उनीहरुले एसियाको तारा भनेर चिनिने बुद्धले अङ्गालेको अहिंसा र शान्तिको बारेमा सबैलाई बुझाउन सकेमा समाजमा अमनचयन कायम हुने बताएका थिए ।

कार्यक्रममा म्याग्दी बौद्ध संघका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र सभासद दीपक श्रेष्ठले मन्तव्य राखेका थिए । साधारणसभामा संस्थाका सचिव याम शाक्यले प्रगति र कोषाध्यक्ष कुविरकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बुद्ध बिहारका जग्गादाताद्वय पुण्यबहादुर शाक्य र लक्ष्मी शाक्यको प्रमुख आतिथ्य, म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता र सचिव याम शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला बौद्ध संघका निवर्तमान अध्यक्ष भूलमाया तिलिजाले स्वागत गरेकी थिइन् ।