भूकम्पले घर भत्किएपछि छिमेकीको शरणमा,राहतमा लापरवाही

0
306

बेनी नगरपालिका–५ बगुवाखोलाममा एक परिवार भूकम्पले भत्किएपछि छिमेकीको शरणमा पुगेका छन् । २०७२ बैशाख १२ गतेको भूकम्पले दुईतलेको चर्किएपछि जोखिम मोलेर बस्दै आएका शिव कार्कीको परिवारले सरकारी निकायबाट सहयोग नपाएपछि छिमेकीको छाप्रोमा बस्न थालेका छन् ।

भूकम्पले क्षती पुगेको विवरण संकलन गर्न आएका स्वयमसेवक तथा सरकारी कर्मचारीले समेत सहयोगको आश्वासन दिएपनि राहत प्राप्त नगरेको स्थानीय बीर बहादुर बानियाँले बेनीअनलाइनलाई बताए । ‘घरै अगाडी भूकम्पले चर्किएको घर छ ।

राहतका लागि हामीले पनि पटकपटक सम्पर्क गरियो’ उनले भने । भूकम्पबाट प्रभावित भएकालाई अनुदान वितरण भइरहेको अवस्थामा कार्कीको परिवारले जिल्ला प्रशासनबाट १० हजार बाहेक एक रुपैयाँ पनि प्राप्त नगरेको उनले बताए । ‘दिनभर काम नगरे खानु छैन । बास्तविक पीडित नै सरकारी सुविधाबाट बन्चित भएका छन्’ उनले भने ।

भूकम्पले ढुंगामाटोको दुईतले घरको माथिल्लो भाग भत्किएपछि जोखिम मोलेर बसेका कार्कीको परिवारलाई भत्किएर मानवीय क्षती हुने भन्दै छिमेकी शिव थापाको छाप्रोमा सारिएको थियो । थापाले समेत बस्ने ब्यवस्था मिलाएपनि कार्की परिवारको आर्थिक अवस्था कारण घर पुननिर्माणमा समस्या भइरहेको छिमेकीले बताए । चारजनाको परिवारलाई दैनिक ज्यालामजदुरी गरेको कमाईबाट पाल्दै आएका छन् । कार्कीका श्रीमान, श्रीमति बोल्न नसक्ने भएकाले पनि तथ्याङ्क संकलनको बेलामा कर्मचारीले बेईमानी गरेको स्थानीयको गुनासो छ ।

बेनी–दरवाङ सडकखण्डमै रहेको घरको कुनैपनि बेला भत्कन सक्ने भन्दै स्थानीयले तत्काल ब्यवस्थापन गर्न अनुरोध गरेपनि आर्थिक अभावले कार्की परिवारले अलपत्र छोडेका छन् । जिल्लामा ८६८ जना भूकम्प पीडितको पहिचान गरिएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले पहिलो किस्ता वापत पहिलो चरणमा ६४५ पीडितलाई ५० हजार रुपैयाँको दरले निजी आवास निर्माणका लागि रकम लिइसकेका छन् । जिल्लामा पहुँच भएकाहरुले समान्य घरलाई पनि पूर्ण क्षती भएको भन्दै नाम उल्लेख गरेपनि कार्की जस्ता बास्तविक पीडितहरु राहतबाट बन्चित भइरहेका छन् ।