मंगला गाउँपालिकाको समसामयिक विषयमा सरोकारवालाबीच छलफल

0
269

(बाबियाचौर) म्याग्दी, भदौ २५ –

निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आइतबार छलफल तथा अन्तत्र्रिmया सम्पन्न भएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुबीच समसामयिक विषयमा कार्यक्रम आयोजना गरी अन्तत्र्रिmया र छलफल गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले गाउँपालिका स्थानीय सरकार, गाउँसभा व्यवस्थापिका र उपाध्यक्षको संयोजकत्वको न्यायिक समिति न्यायपालिका भएको हुँदा स्तरीय गाउँपालिका बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले जिल्ला समन्वय समितिमार्फत गाउँपालिकामा प्राविधिक खटाइएको जानकारी दिँदै सामाजिक सुरक्षा भत्ता वितरणको कार्य बैङ्किङ प्रणालीमार्फत हुँदा समस्या भएकाले गाउँ टोलमै पुगेर वितरणको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

प्रमुख केसीले जिल्ला समन्वय समितिले जिल्लास्थित सरकारी कार्यालय र गाउँपालिकाबीच आवश्यक समन्वय गरी विकास निर्माणका काम गर्न आवश्यक वातावरण निर्माण गर्ने बताउँदै स्थानीय तहमा सञ्चालित विभिन्न योजना, आयोजना लगायतको आवश्यक कामकार्वाहीको पहल गरिने बताए । जनप्रतिनिधि र कर्मचारी एकापसमा मिलेर जनतालाई उचित सेवा प्रवाह गर्नुपर्ने र दीगो विकास गर्नुपर्ने उनको भनाई छ ।

सोही कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जिल्लामा घटेका केही घटनामा संलग्नहरुलाई पक्राउ गरी थुनिएकोमा पीडितभन्दा पनि पीडक पक्षबाट अनावश्यक दवाव आउने गरेको बताए । उनले घटनाका पीडितले न्याय पाउनुपर्ने भन्दै गाउँपालिकाले समाधान गर्न नसक्ने घटनालाई जिल्लामा पठाउन आग्रह गरेका छन् ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बजेट, नीतिनियम, कार्यक्रम र योजनाको तर्जुमा गरी पारित गरिएको हुँदा अब सबै मिलेर त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकामा पर्याप्त कर्मचारी र स्पष्ट नीति नियमको अभावमा प्रभावकारी रुपमा योजना कार्यान्वयनमा समस्या भएको बताइन् ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले विद्यालयमा किताब समेत बिक्री गर्न नपाइने हुँदा चाडपर्वका नाउँमा मेला र जात्रा सञ्चालन गरी मादक पदार्थ सेवन बिक्रीवितरण नगर्न आग्रह गर्दै त्यस्तो पाइएमा कार्वाही गरिने बताए । वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले मंगला गाउँपालिकामा मात्रै कुल एक करोड २८ लाख २२ हजार रुपैयाँ बजेट कृषि क्षेत्रमा आएको बताए ।

जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले स्थानीय तहमा योजना सञ्चालन गर्दा भूगोलमैत्री, संरक्षणमैत्री र वातावरणमैत्री हुनुपर्ने बताएका छन् । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. मनबहादुर पुनले पशु कार्यालयको बजेट पनि गाउँपालिकामा आएको हुँदा पूर्ण कार्यान्वयन हुनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति डेकबहादुर बानियाँ, मंगला गाउँपालिका–१ का वडाध्यक्ष डेकबहादुर रामजाली, सदस्य जितमान गौचन, ३ का वडाध्यक्ष कविन्द्र रोकामगर, ५ का वडाध्यक्ष भूपेन्द्र केसी, २ नम्बर वडाका महिला सदस्य सरस्वती उपाध्याय र स्थानीय चन्द्रबहादुर फगामीले आ–आफ्नो धारणा राखेका थिए ।

सिबिए अध्यक्ष चन्द्रमणि सापकोटाले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिएभने मंगला गाउँपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद पौडेलले गाउँपालिकाको गतिविधिका बारेमा जानकारी गराएका थिए । सिबिए अध्यक्ष सापकोटाको अध्यक्षता, उपाध्यक्ष डिल्लीराम रेग्मीको स्वागत र सचिव सुभास रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।