‘नेपाल प्रहरी सत्य सेवा सुरक्षणम्’ भन्ने मूल नारासहित जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आइतबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा घट्ने घटना र जनताको समस्या तथा गुनासोको बारेमा जानकारी लिनेदिने उद्देश्यसहित नागरिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा बोल्दै म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले समाजको विकास सुरक्षाबाट मात्रै सम्भव भएको हुँदा सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्ने बताइन् । उनले स्थानीय तहमा घट्ने आपराधिक घटनाको न्युनीकरणका लागि जनप्रतिनिधिले आवश्यक पहल गर्नुपर्ने बताउँदै जिल्ला प्रहरीसँग आवश्यक समन्वय र सहकार्य गर्नुपर्ने बताएकी छिन् ।

प्रहरीमा जनशक्ति कम हुँदा भनेजति समस्या समाधान गर्न नसकिएको बताउँदै प्रनाउ खड्काले स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएपछि आपराधिक क्रियाकलाप नियन्त्रणमा लिन सहज भएको बताइन् । जिल्ला प्रहरी कार्यालयबाट समयसमयमा लागूऔषध दुव्र्यसनी न्युनीकरणका लागि विद्यालयहरुमा सचेतनामूलक कार्यक्रमहरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला शिक्षा कार्यालय म्याग्दीका स्रोतव्यक्ति डेकबहादुर बानियाँले पछिल्लो समय विद्यालयस्तरका बालबालिकाहरु लागूपदार्थ दुव्र्यसनी र कुलतमा फसको भन्दै त्यसको न्युनीकरण गर्न सचेतनामूलक अभियानहरु सञ्चालन गर्नुपर्ने बताए । उनले प्रहरी, प्रशासन र विभिन्न संघसंस्थामार्फत शिक्षा कार्यालय र स्रोतकेन्द्रसँग आवश्यक समन्वय गरी कार्यक्रम गर्न सकिने बताएका थिए ।

कार्यक्रममा सहभागी सरस्वती उपाध्याय, भूपेन्द्र केसी, चन्द्रबहादुर फगामीलगायतले हिंसामा परेका महिलाले न्याय प्राप्त गर्नका लागि कसरी कानुनी उपचार लिने, अधिकारको प्रयोग गर्दा गलत तरिका अपनाइएको र गाउँ तहमा घट्ने घटना न्युनीकरणका लागि समुदायस्तरमा प्रहरीको उपस्थिति हुनुपर्ने जस्ता विषयमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले गाउँ टोलमा घट्ने घटनाको जानकारी गराउन स्थानीयलाई आग्रह गरेकी छिन् । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख÷प्रतिनिधि, जनप्रतिनिधिहरु, आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिका पदाधिकारी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।