आगामी मंसिरमा १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको तयारीमा म्याग्दीका राजनीतिक दल जुटेका छन् । निर्वाचन आयोगले पहिलो चरणमा गर्ने निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि प्रारम्भीक तयारी स्वरुप ठुला तीन दलले बैठक, भेटघाट र गाउँपालिकास्तरमा हुने कार्यक्रममा सक्रियता देखाउन थालेका हुन् । स्थानीय तहको निर्वाचन सकिएपछि केही महिना जिल्लातहका कार्यक्रमहरूमा सिमित भएका दलका नेताहरू अहिले नगर, गाउँपालिका र वडास्तरका कार्यक्रममा ब्यस्त छन् ।

नेपाली कांग्रेस म्याग्दीले शनिबार छैठौं जिल्ला अधिवेशन पछिको पहिलो जिल्ला सम्मेलन र प्रशिक्षण कार्यक्रम गरेको छ।स्थानीय तहका निर्वाचित प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, सदस्य र पराजित उम्मेदवारका साथै नगर, गाउँपालिका, वडास्तरका करिव ४ सय जना प्रतिनिधिलाई आगामी निर्वाचन लक्षित प्रशिक्षणबाट चुनावी अभियान सुरु गरेको छ । प्रशिक्षक देवराज चालिसेले नेपाली कांग्रेसको भावि रणनीति,कार्यदिशाका बारेमा प्रशिक्षण दिएका थिए ।

सांसद रेशम बहादुर बानियाँले निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘अव निर्वाचन केन्द्रित अभियानमा केन्द्रित हुनुहोस्, जिल्लामा कांग्रेसको पक्षमा देखिएको जनमतलाई सुरक्षित गर्ने गाउँस्तरबाटै लाग्नुपर्छ’ बानियाँले भने ।गत स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका, मालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको प्रमुख जित्दै स्थानीय तहमा पहिलो शक्ती भएको कांग्रेसले आगामी निर्वाचनमा समेत पहिलो शक्ती बन्ने गरी योजना बनाइरहेको छ ।

कांग्रेसमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका उम्मेदवारको चर्चा समेत सुरु भएको छ । प्रदेश सभामा दुईवटा र प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लामा सांसद रेशम बहादुर बानियाँ, जिल्ला सभापति खम्बीर गर्बुजा, जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी, माधवप्रसाद रेग्मी, नेत्र बहादुर महत लगाएतको चर्चा सुनिएको छ । त्यस्तै नेकपा एमालेले धौलागिरि र अन्नपूर्ण गाउँपालिकामा जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

संसदका सदस्य नवराज शर्मा, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, पार्टी सचिव बालकृष्ण सुवेदी लगाएतले जनप्रतिनिधि सम्मान सहित आगामी निर्वाचनमा पार्टीको जीतलाई सुरक्षित गर्ने गरी रणनीतिहरुका बारेमा नेताकार्यकर्तालाई प्रशिक्षण दिएका थिए । स्थानीय तहमा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि निराश भएका एमालेले प्रतिनिधि र प्रदेश सभामामा जित्ने गरी योजना बनाइरहेका छन् ।

गाउँपालिका हुदै वडास्तरका अधिवेशनमा समेत केन्द्रित भएको एमालेले सम्मान, प्रशिक्षण र अधिवेशन मार्फत कार्यकर्तालाई सक्रिय बनाएको छ । पार्टीका सचिव बालकृष्ण सुबेदीले पार्टीले सरकारमा हुदाँ गरेको कामहरूका बारेमा जनताको घरदैलोमा पुग्ने गरी कार्यकर्ताहरुलाई परिचालन गरिने बताए । एमालेले आफ्नो सबै शक्तीको प्रयोग गरेर आगामी निर्वाचन जित्ने योजना बनाएको छ । एमालेबाट दुवै निर्वाचनमा सांसद द्धय नवराज शर्मा, नरदेबी पुन, बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा, जिल्ला अध्यक्ष हरिकृष श्रेष्ठ, सचिव बालकृष्ण सुबेदीको चर्चा चल्न थालेको छ । चर्चामा रहेपनि पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छैन् ।

त्यस्तै जिल्लामा तेस्रो शक्तीको रुपमा रहेको नेकपा माओवादी केन्द्रले आन्तरिक तयारी सुरु गरेको छ । जनयूद्धको प्रभावित जिल्ला भएपनि पहिलो संविधान सभा बाहेक निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन नसकेको माओवादीले यसपटक दुवै निर्वाचनमा पहिलो संविधान सभाको जस्तै मत परिणाम ल्याउने योजना बनाएको छ। माओवादीमा उम्मेदवारको हल्ला कम भएपनि जिल्ला इन्र्चाज गोविन्द पौडेल, चन्द्र बहादुर घिमिरे, यूवा नेता पुनम खड्का, पुस्कल विकको चर्चा रहेको छ । जिल्लामा चौथो शक्ती भएपनि राप्रपाको प्रभाव न्यून छ । स्थानीय तहमा एमाले संग तालमेल गरेर बेनी नगरपालिकाको उपमेयर र केही वडा सदस्य जितेपनि पार्टी विभाजित भएपछि थापा र राणाको पक्षमा विभाजित भएका छन् ।पूर्व राज्यमन्त्री भीमप्रसाद गौचन कमल थापाको पक्षमा छन भने उनका भाई पशुपति शमसेर राणको पक्षमा देखिएका छन् ।

निर्वाचनको मुखमा कार्यकर्ता तानातान हुन निश्चित छ ।केही नेताकार्यकर्ता अन्य पार्टीमा जाने चर्चा समेत चलेपनि त्यसलाई जिल्ला नेतृत्वले अस्वीकार गदैं आइरहेको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा जित्ने गरी आन्तरिक तयारमा जुटेका पार्टीले पहिलो प्रयोग वडामा जितेका जनप्रतिनिधि र गाउँपालिकाका प्रमुख र उपप्रमुख र गाउँ कार्यपालिकालाई गर्ने संकेत देखाएका छन्। स्थानीय जनप्रतिनिधिहरु सक्रिय भए मतदातालाई आफ्नो पक्षमा ल्याउन सजिलो हुने अनुमान राजनीतिक दलको छ ।