राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षामा उत्र्तिण भएकी दृष्टिविहिन धनमायाँ विकका साथीहरूले बधाई दिदाँ समेत उनको अनुहारमा खुसी चमक देखिएन् ।साथीहरूले स्नातक तहको शिक्षाका लागि योजना बनाइरहदाँ विकको थप शिक्षाका लागि तत्कालै योजना नभएको बताईन् । दृष्टिविहिन भएकै कारण घरमा चरम यातना दिएपछि मंगला गाउँपालिका–२ मा बस्दै आएकी विकले मंगला माध्यामिक विद्यालयमा सहयोग सङ्कनल गरी अध्ययन गरेकी थिईन् ।

‘सहयोग जुटाएर १२ सम्मको पढाई सके, घरमा फर्किर जाने अवस्था छैन्’ धनमायाँले भनिन् ।ब्रेललीपीको सहयोगमा पढ्नुपर्ने भएकाले पनि आफन्तको बसेर पढ्ने सम्भावना समेत नभएको बताउँदै विकले आर्थिक ब्यवस्थापन भए पिएन क्याम्पस पोखरामा होस्टेलमा बसेर पढ्ने योजना रहेको बताईन् ।

जिल्लाको रघुगंगा गाउँपालिका ‐साविकको झिँ गाविस–८)मा जन्मिएकी विककी विकले दुईबर्षमै आमा गुमाएपछि बुवा र अर्की आमाले दैनिकजसो दिने यातना दिन थालेपछि लामो समयदेखी घरमा गएकी छैनन् । विकलाई विगतमा गाविसले दलित र अपाङ भत्ता समेत उनका पिता डम्बर बहादुर विकले आफैले राख्ने गरेको फेला परेपछि अहिले उनको हातमा दिने गरिएको छ ।

रघुगंगा गाउँपालिका–३ पिप्लेमा अवस्थित ज्ञानोदय माविको दृष्टिविहिन श्रोतकक्षाबाट एसएलसी दिएकी विक उचित वातावरण नहुदाँ भविस्य नै अन्धकार भएको गुनासो गरिन् । ‘दृष्टिविहिन विद्यार्थीकै लागि एउटा सफल शिक्षक बन्ने धोको छ, मेरो जस्तो पीडा भएका धेरै दृष्टिविहिनहरू छन्’ विकले भनिन् । स्नातक तहको अध्ययन सकेर दृष्टिविहिन विद्यार्थीले पढ्ने विद्यालयमा शिक्षकको रुपमा कार्यरत हुने आफ्नो थप योजनालाई आर्थिक अभावले रोक्ने प्रयास गरेको बताउँदै सहयोगको याचना समेत गरिन् ।

‘मलाई सहयोग गर्नुभएको छ,त्यसरी नै मैले पनि दृष्टिविहिन विद्यार्थीलाई सहयोग गर्ने छु’ विकले भनिन् । पढाईमा अब्वल भएपनि पारिवारिक सहयोगको अभाव, आर्थिक ब्यवस्थापनले दैनिक गुजारा चलाउन मुस्किल भएको मंगला मावीका प्रधानध्यापक गम बहादु्र खत्रीले बताए । ‘साङ्ग विद्यार्थीसंगै बसेर १२ कक्षा उत्र्तिणा गरेकी छन् । विद्यालयबाट प्राप्त हुने सबै सेवासुविधा निशु्ल्क गरिएको थियो’ उनले भने । दृष्टिविहिनले प्रयोग गर्ने ब्रेललिपीको समेत अभाव भएकै कारण अपेक्षा गरे अनुसारको अङ्क आउन नसकेको प्रअ खत्रीको भनाई छ ।

उनले गतबर्ष बेनीका समाजसेवी लीला बानियाँले ६० हजार सहित विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएपछि खानाबस्न, स्टेशनरी, लत्ताकपडामा खरिद गर्न सजिलो भएको बताए । उनले बे्रललिपीमा लिपिबद्ध भएका पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रमको सुविधा भए विकले उत्कृष्ट नतिजा ल्याउन सक्ने बताए । यसैविच अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र केसीले अपाङ्ता भएकाहरूलाई राज्यले निशुल्क आवासीय सुविधा सहितको शिक्षाको ग्यारेन्टी गर्नुपर्ने बताए । ‘राज्यले समेत अपाङ्ता भएकालाई सहयोग गरेको छैन् । ग्रामिण क्षेत्रमा रहेका दृष्टिविहिनको अवस्था दयनीय छ’ उनले भने ।

परिचय पत्र पहुँचका आधारमा वितरण गर्ने गरिएकाले पनि अपाङ्गता भएकाहरूले गुनासो गर्ने गरेका छन् । जिल्लामा शारिरीक रुपमा अपाङ्गता भएका ३ हजार ३ सय जनाले अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गत आर्थिक वर्ष २०७३÷७४ सम्म म्याग्दीका कुल ३ हजार २५९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो । ‘क’ वर्गका २०७ जना, ‘ख’ वर्गका १ हजार १३१, ‘ग’ वर्गका ८९९ र ‘घ’ ९१८ जना रहेका छन् ।