४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक(एआइजी) कमलसिंह बमले म्याग्दी जिल्लामा अपराधिक घटना न्यूनिकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । अपराधिक घटना न्यूनिकरण गर्न प्रहरीलाई समुदायबाट निरन्तर सहयोगको आवश्यकता रहेको बताए ।

सोमबार जिल्ला प्रहरी कार्यालयको निरिक्षणमा आएका एआइजी बमले बेनीबजारको सुरक्षाका लागि समुदायको सहयोगमा जडान गरिएका सिसी क्यामेराले अपराधिक घटना न्यूनिकरणमा ठुलो भूमिका खेलेको बताउँदै यसलाई मर्मतसम्भार गर्ने कोषको स्थापनामा समेत जुट्न अनुरोध गरे । ‘जनताको सहभागितामा अपराधिक घटना न्यूनिकरणमा गर्न गर्नुभएको पहलबाट उत्साहित छु । राज्यको बजेटबाट मात्रै शान्ति सुरक्षा स्थापना गर्न सकिदैन’ उनले भने ।

४ नम्बर प्रदेशलाई शान्ति सुरक्षाको दृष्टिकोणले देशकै नमुना प्रदेश बनाउन बर्दी विनाको प्रहरी अर्थात जनताको सहयोग आवश्यकता रहेको बताउँदै प्रहरीका जनता लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताए । उनले जनप्र्रतिनिधि विहिन अवस्थामा ग्रामिण क्षेत्रमा घट्ने अपराधिक घटनाहरू स्थानीय निकायको निर्वाचन लगत्तै न्यूनिकरण हुने अपेक्षा ब्यक्त गरे । ‘गाउँमै अपराधिक घटना घट्नबाट जनप्रतिनिधिबाट समेत ठुलो सहयोग हुने छ । प्रहरीको संरचना समेत गाउँपालिकास्तरको बन्दैछ’ उनले भने ।

अन्तरक्रिया तथा छलफल कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल, वडा अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन बहादुर विश्वकर्मा, पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्यामलाल न्यौपाने,नागरिक समाजका संयोजक सुर्दशन कुमार श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पसकी सहायक प्रमुख रेखाकौशल रेग्मी लगाएतले प्रहरीसंग सहकार्य गरिरहेको बताएका थिए । प्रहरी कार्यालय भित्र स्थापना गरिएको महिला सहायता कक्षको उदाहरण दिदैं थप विभिन्न सहयोगहरु मार्फत प्रहरीको अपराध न्यूनिकरणको अभियानमा सघाउने प्रतिबद्धता जनाएका थिए ।

अन्तरक्रिया कार्यक्रमको सहजिकरण प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले गरेकी थिईन् । प्रनाउ खड्काले जिल्लामा भइरहेका अपराधिक घटना तथा आगामी योजनाका बारेमा समेत भ्रमणको क्रममा एआइजी बमलाई जानकारी गराएको प्रहरी स्रोतले जनाएको छ । जिल्लामा महिला हिंसा, आत्महत्या सहित सामाजिक अपराधलाई न्यूनिकरण गर्न विद्यालय, समुदायस्तरमा जनचेतनामुलक कार्यक्रमहरुलाई समेत प्राथमिकता दिइएको प्रनाउ खड्काले बताईन् निरिक्षण भ्रमणमा अञ्चल प्रहरी कार्यालय बागलुङका प्रमुख बिक्रम सिंह गुरूङको समेत उपस्थिती रहेको थियो ।