विविध कार्यक्रमसहित म्याग्दीमा राष्ट्रिय बाल दिवस मनाइयो (फोटोफिचर)

0

‘बालमैत्री शासन, बाल अधिकारको सम्मान’ भन्ने मूल नारासहित बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा विविध कार्यक्रमसहित राष्ट्रिय बाल दिवस–२०७४ मनाइएको छ । नेपाल बाल सङ्गठन म्याग्दी र बाल सञ्जालको संयुक्त आयोजना तथा जिल्ला बालकल्याण समितिको सहयोगमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइएको हो ।

बाल दिवसको अवसरमा ‘समयको महत्व र बालबालिका’ विषयक बक्तृत्वकला समेत आयोजना गरिएको थियो । म्याग्दी जिल्लास्थित विभिन्न ९ ओटा विद्यालयले सहभागिता जनाएको बक्तृत्वकलामा बेनी सामुदायिक माध्यमिक विद्यालयका सफल सुवेदी प्रथम भएका छन् । यसैगरी न्यु वेष्ट प्वाइन्ट माविका यशन राम्जाली द्वितीय, प्रकाश माविका सुरेन्द्र थापा तृतीय र जामुनाखर्क मावि अर्थुङ्गेका दीवाकर उपाध्याय सान्त्वना भएका थिए ।

विजयी हुनेहरुलाई क्रमशः नगद तीनहजार, दुईहजार, एकहजार र पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ भने सहभागी प्रतियोगीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अवसरमा यसअघि बाल दिवसको पूर्वसन्ध्यामा सोमबार आयोजित धौलागिरि अञ्चलस्तरीय खुल्ला बाल लोकगीत प्रतियोगिताको पुरस्कार वितरण पनि गरिएको छ ।

प्रतियोगिताबाट प्रथम माउण्ट एभरेष्ट आवासीय माविका मिलन विश्वकर्मा, द्वितीय राधाकृष्ण आधारभूत विद्यालयका दिनेश थापा, तृतीय डडुवाका सङ्गीता किसान र सान्त्वना लमसुङ माविका विष्णु बुढाथोकीलाई क्रमशः नगद १० हजार, सातहजार, पाँचहजार र तीनहजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । यसैगरी लोकगीत तथा बक्तृत्वकलाका निर्णायक मण्डल, सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको बाल सञ्जालले जनाएको छ ।

सोही अवसरमा नेपाल बाल सङ्गठनले हरेक वर्ष बाल दिवसको अवसरमा प्रदान गर्दै आइरहेको प्रोत्साहन छात्रवृत्ति बालमन्दिर आधारभूत विद्यालयका कमला शर्मा, प्रकाश माविका उदय कुँवर, भानू माविका अनिशा रत्न, बेनी सामुदायिकका सुनिल कँडेल र जामुनाखर्कका सुनिल महतलाई क्रमशः एकहजार पाँचसय रुपैयाँका दरले रकम दिइएको छ । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, बाल सङ्गठन सभापति नेत्रबहादुर महत र बाल सञ्जालका अध्यक्ष दिपक परियारले पुरस्कार रकम र सम्मान तथा प्रशंसापत्र वितरण गरेका थिए ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले समयको महत्व बुझेर अगाडि बढ्न बालबालिकाहरुलाई आग्रह गरेका छन् । प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले समस्यालाई चिनेर साथीभाइलाई राम्रो सिकाउन बालबालिकालाई अनुरोध गर्दै समाजप्रति आफ्नो कर्तव्य र जिम्मेवारी निभाउनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल कांग्रेसका जिल्ला कार्यसमिति सदस्य अमृतदेवी बानियाँ, अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । प्रतियोगितामा सहभागी बालबालिकाले बक्तृत्वकलामार्फत समयलाई सेकेन्ड, मिनेट, घण्टा, दिन, महिना, वर्ष, दशक र शताब्दीका रुपमा गणना गरिने भएको हुँदा समयको महत्वलाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

नेपाल बाल सङ्गठनका सभापति नेत्रबहादुर महतको अध्यक्षता, बाल सञ्जाल अध्यक्ष दीपक परियारको स्वागत र सचिव रञ्जना श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा बाल कलाकार दिपेन थापा, लक्ष्मी परियार, अन्जली विकलगायतले आ–आफ्नो गीत र नृत्य प्रस्तुत गरेका थिए ।