दृष्टिविहिन धनमायाँ विकको उच्च शिक्षा अध्ययन गर्न एक ब्यक्तिले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण स्नातक तह पढ्ने धोको अधुरो भएको समाचार प्रकाशित भएपछि स्नातक तहसम्मको अध्ययनका लागि बेनी नगरपालिका–७ न्यूरोड निवासी समाजसेवी लिला बहादुर बानियाँले सहयोगको घोषणा गरेका हुन् ।

मासिक ५ हजारको दरले बार्षिक ६० हजार चारबर्षे स्नातक तहको पढाईसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।दृष्टिविहिन भएकै कारण घरबाट समेत निकालिएकी विकलाई आर्थिक अभावकै कारण पढाईबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग गरेको बानियाँले बेनीअनलाइनलाई बताए ।

‘परिवारबाट समेत संरक्षण नभएको अवस्थामा सहयोग गर्नु मानवीय धर्म हो । उच्च शिक्षामा कुनैपनि समस्या नहुने गरी थप वातावरण बनाउन समेत सघाउने छु’ बानियाँले भने । जिल्लाको रघुगंगा गाउँपालिका ‐साविकको झिँ गाविस–८) स्थायी घर भएकी विकलाइ अभिभावकबाट समेत शारीरिक तथा मानसीक यातना दिने गरिएपछि आफन्तको सहयोगमा मंगला गाउँपालिका–२ बावियाचौरस्थीत मंगला माध्यामिक विद्यालयबाट कक्षा १२ उत्र्तिणा गरेकी थिईन्।

कक्षा ११ र १२ पढ्न समेत आर्थिक संकट भएको अवस्थामा बानियाँले ६० हजार आर्थिक सहयोग गरेका थिए । ‘संसार देख्ने आँखा गुमाएपनि संसार बनाउन शिक्षा गुमाउन दिनुहुदैन्, उनको शैक्षिक प्रगतीबाट उत्साहित छु’ पौलस्त्य पुलह आश्रम क्षेत्रविकास समितिका अध्यक्ष समेत रहेका बानियाँले भने ।

उनले प्रतिबद्धता रकम बाहेक पनि समय समयमा लत्ताकपडा, खानेकुरा समेत सहयोग गर्ने जनाएका छन् । दृष्टिविहिन विकले आफ्नो उच्च शिक्षा पढ्न आर्थिक सहयोग गर्ने दातालाई धन्यवाद दिएकी छन् । ‘एक रुपैयाँ पनि दुरुपयोग नगरी पढाईमै खर्च गर्छु। भविस्यमा राम्रो शिक्षक बन्ने धोको छ’ विकले बेनीअनलाइनलाई भनिन् ।

जन्मदिने आमाको दुईबर्षको उमेरमै मृत्यु भएपछि दोस्रो आमाको यातनाले घरमा फर्कने अवस्था नभएको बताईन् । उनले बे्रल लिपी, स्टेशनरी, अडियो पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रम खरिदमा आर्थिक सहयोगलाई प्रयोग बताईन् । यसअगाडी विकलाई बेनी नगरपालिका–५ पुलाचौर भीरमुनी स्थायी भई हाल बहराईनमा रहेका प्रेम विश्वकर्माले ५ हजार सहयोग गरेका थिए ।

यसैविच बेनपा–४ तातोपानीमा आफन्तकोमा बस्दै आएकी विकलाई म्याग्दी बहुमुखी क्याम्पसमा छात्रबासमा पूर्ण छात्रबृत्ति सहितको सुविधाका लागि क्याम्पस प्रमुख टिकाराम सापकोटाले प्रतिबद्धता जनाएका छन् । उनले आवासीय सुविधा संगै कक्षा कोठामा समेत सहज वातावरण हुने भएकाले विकलाई क्याम्पसमा स्वागत गर्न आतुर भएको बताए । जिल्लाको ग्रामिण क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकै कारण उपचार र शिक्षाबाट बन्चित भएका अपाङ्गता भएका बालबालिका भेटिएपनि सम्बन्धित निकायको नजर पुग्न सकेको छैन् । उनलाई चारबर्षसम्म लत्ताकपडा, खाना, स्टेशनरी, ब्रेल सहितको साम्रागी लगाएतमा थप सहयोगको आवश्यकता रहेको छ ।