चाडपर्वको रौनकता सुरु भएपनि ग्रामिण क्षेत्र जोड्न सडकको जोखिम कायमै छ । लाखौं खर्चिर विस्तार गरिएका सदरमुकाम बेनी आसपासका क्षेत्रका सडक समेत जोखिमपूर्ण भएपनि सम्बन्धित निकायले मर्मतमा अझै चासो देखाएको छैन् ।

सडक मर्मतमा सरकारी निकाय रमिते बनिरहेको अवस्थामा अर्थुङ्गेका यूवाहरुले शनिबार सडक मर्मत गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट अर्थुङ्गे–छाप जोड्ने सडकको जोखिमपूर्ण सडकलाई अर्थुङ्गे यूवा क्लवको सक्रियतामा श्री बक्स गुल्मका नेपाली सेनाको सहयोगमा मर्मत गरिएको छ ।

तत्कालिन ड्रिलिप नामक संस्था मार्फत गरिएको सडक विस्तारको क्रममा अर्थुङ्गे र छापा, थाकनपोखरी जोड्ने सडकमा सवारीसाधनमा आवतजावत समस्या भएपछि मर्मत गरिएको क्लवका अध्यक्ष शिशिर शाहीले बेनीअनलाइनलाई बताए । ‘ज्यानकै जोखिम बढ्यो, अझै मर्मतको आवश्यकता छ’ शाहीले भने ।

क्लवले खेलकुद संगै सामाजिक कार्यलाई पनि निरन्तरता दिने उनले बताए । सडक विस्तारमा क्लवका सदस्य सहित नेपाली सेनाले ढुंगा ब्यवस्थापन गरी आवतजावतमा सहज बनाएका थिए । गत बर्षाले अवरुद्ध भएका सडकहरु खुलेपनि जोखिमपूर्ण क्षेत्रमा मर्मत गरिएको छैन् । नगरपालिका सहित सबै गाउँपालिकामा असारमा अवरुद्ध भएका सडकहरु मर्मत भएका छैनन् । मर्मतको क्रममा रहेका आगामी दशै अगाडी सडकको मर्मत गरिने जनप्रतिनिधिले बताएका छन् ।