म्याग्दीको सदरमुकाम बेनीमा आइतबार साहासिक प्यारामोटरको उडान गरिएको छ । पोखरामा ब्यवसायीक प्याराग्लाइडिङ ब्यवसाय सञ्चालन गदैं आइरहेका भुपाल सिंह गुरूङको नेतृत्वमा सात जनाको टोली गत बिहिबार स्थलगत रुपमा अवलोकन गरेको बेनपा–२ लभ्लीहिलबाट करिव डेढ घण्टा बेनीबजार, पर्वतबेनी, मंगलाघाट, अर्थुङ्े, चुत्रेनी बगरफाँट लगाएत आसपासका क्षेत्रमा एउटा प्यारामोटरबाट उडान गरिएको थियो ।

आइतबार देखी सुरु भएको तेस्रो बौद्ध कपको आयोजक बौद्ध यूवा क्लव र काठमाण्डौमा रहेका म्याग्दीका यूवाहरुले स्थापना गरेको गंगटा यूवा क्लवको ब्यवस्थापनमा उडान गरिएको थियो । प्याराग्लाइडिङको ब्यवसायीक सम्भावनाको अध्ययनको रुपमा हेरिएपनि बेनीबजार आसपासमा हावाको बेगमा आउने परिवर्तनले सम्भव नभएपछि मोटरको सहायतमा उडान गरिने प्यारामोटरबाट उडान गरिएको हो ।

एकजना पाईलट र एकजना यात्रु बस्न मिल्ने प्यारामोटर समथर भुभागबाट समेत उडान गर्न सकिन्छ । प्याराग्लाइडिङ भीरबाट उडान गनुपर्ने भएपनि मोटरको साहायताबाट गरिने उडान भएकाले पनि जस्तो बजार क्षेत्रबाट समेत प्यारामोटरको उडान गर्न सकिने पाईटलहरुको भनाई छ । यसबाट चाहेको ठाउँमा जान सकिन्छ ।

बेनीबजार साँधुरो बस्तीका साथै भीर भएकाले पनि जोखिमपूर्ण धेरै रहेको उडानमा संलग्नको भनाई छ । पोखरामा ब्यवसायीक प्याराग्लाइडिङ गर्नेहरुको संख्या बढ्न थालेपछि बन्दीपुर, धरान लगाएत नयाँ क्षेत्रको खोजीमा आवश्यकता रहेको अवस्थामा बेनी आसपासको क्षेत्रलाई पनि सम्भावनाको अनुमान गरिएको थियो ।

पहाडी र अग्ला भीर भएका क्षेत्रमा हावाको बेगले दुर्घटनाको जोखिम भएकाले पनि बेनीमा प्याराग्लाइडिङको सम्भावना नरहेको टोलीको भनाई छ । दुईवटा नदी, अग्लो पहाड लगाएत मौसम परिर्वतन लगाएत प्रमुख समस्या रहेको प्याराग्लाइडिङका पाइलटले बेनीअनलाइनलाई बताए ।

हिमाली जिल्ला मुस्ताङ्ग र म्याग्दीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आर्कषित गर्न सकिने नयाँ ब्यवसाय भएकाले पनि यूवाहरुले परिक्षण उडानका लागि कम्पनीलाई अनुरोध गरेका थिए । विगतमा धौलागिरि अञ्चललाई प्याराग्लाइडिङका लागि अवैध मार्ग मानिएको थियो । चारबर्ष साविकको कुुहुँ गाविस–८ थाईवाङ हाल मंगला गाउँपालिका–१ मा दुई विदेशीले लुकिछिपी प्याराग्लाइडिङ उडानको क्रममा भीरबाट खसेर मृत्यु भएपछि अवैध उडान क्षेत्रमा प्रहरीले समेत कडाई गरिएको थियो ।

त्यसयता समेत जिल्लाका ग्रामिण क्षेत्रमा विदेशी पर्यटकले लुकिछिपी उडान गर्ने गरेका थिए । साहसिक खेल प्याराग्लाइडिङका लागि म्याग्दीका यूवाहरु समेत पोखरा जाने गरेका छन् । म्याग्दीका दुईजनाले पोखरामा कम्पनी सञ्चालन समेत गरेका छन् । तेस्रो बौद्ध कपको अवसरमा आकाशबाट दुईवटा बल जमिनमा फालेपछि उद्घाटन गरिएको थियो । बौद्ध क्लवले परिक्षण उडानमा संलग्न र स्थलगत अनुगमनमा आएकालाई सम्मान तथा धन्यवाद समेत दिएको थियो ।