सदरमुकाम बेनीबजारमा क्लोज सर्किट क्यामेरा (सिसिटिभी) जडान गरिएको आठ महिनामै प्रयोगविहिन अवस्थामा पुगेका छन्। बजारको सुरक्षाका लागी महत्वपूर्ण स्थानमा राखिएका क्यामेराहरू बिग्रिएपछि मर्मत हुन सकेको छैनन् । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाई, बेनी नगरपालिका लगाएतका संघसंस्थाको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय म्याग्दीको विशेष सहयोगमा सुरू गरिएको सिसिटिभी जडानले बजारको सुरक्षामा प्रहरीलाई राहत मिलेको थियो ।

कालीपुल, क्याम्पसचोक, न्युरोड, हुलाकचोक, सङ्गमचोक, बालमन्दिरचोक, विरेन्द्रचोक, हुलाकचोक र नगरपालिका कार्यालय अगाडि लगाएतका स्थानमा १६ वटा सिसी क्यामेरा जडान गरिएपनि हाल ५ वटा प्रयोगमा रहेको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् ।‘सिसी क्यामेरा मर्मतका लागि पहल गरेको छु । चाडपर्वमा अपराधिक घटनाको सम्भावना धेरै हुन्छ’ खड्काले बेनीअनलाइनसंग भनिन् । उनले म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका–७ र ८ वडा अध्यक्षलाई मर्मतका बारेमा जानकारी गराएको बताईन् ।

जिल्लामा रहेका प्रहरी तेस्रो चरणको स्थानिय तहको निर्वाचनमा खटिएको अवस्थामा थोरै जनशक्ती र सिसी क्यामेराबाट निगरानी सहज हुने भएकाले पनि केही दिनमै मर्मत गर्न प्रहरीले अनुरोध गरेको छ । दशैमा विदेशबाट आफन्तले पठाएको रेमिट्यान्स, लत्ताकपडा सहितका साम्रागी खरिद गर्न आएका सर्वसाधारण लुटिने खतरा रहेको छ ।

यता दैनिकजसो चोरीका घट्न, जिल्ला भित्रिने पर्यटकका साथै बजारमा अत्याधिक चहलपहल हुने स्थानहरूमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि मर्मतका लागि काठमाण्डौबाट प्राविधिक ल्याउने तयारी भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन कुमार विश्वकर्माले बताए।

‘कोषको स्थापना गरेर भएपनि प्रयोगमा ल्याउने छौ ।आधुनिक प्रविधिको प्रयोगले अपराधिक घटना न्यूनिकरणमा सघाउ पुगेकाले सबैको सहयोग आवश्यकता छ’विश्वकर्माले भने । जडान तथा मर्मतमा करिब १८ लाख रुपैयाँ खर्च गरिएको छ । सिसि क्यामेराबाट बजारमा घटेका घटनाको पहिचान गर्न समेत सहज भएको थियो । रातको समयमा मदिरा सेवन गरेर होहल्ला गर्ने, तोडफोड गर्ने लगाएतका गतिविधिमा संलग्नलाई समेत क्यामेराबाट पहिचान गरी सार्वजनिक मुद्धा समेत चलाइएको थियो ।

दुई महिना अगाडी न्यूरोडमा मध्यरातमा मोटरसाईकलले गाईलाई ठक्कर दिएर चालक फरार भएपनि दुवै तर्फको क्यामेरा विग्रिएकाले घटनामा संलग्नको पहिचान हुन सकेन। प्रहरीको कन्ट्रोल रुमबाट क्यामेरा जडान गरिएका ठाउँहरुमा परीक्षणको रुपमा मनिटर मार्फत् निगरानी गरिएको गर्ने गरिएको छ । क्यामेरामार्फत निगरानी गर्ने क्रममा अपराधिक शैली, ट्राफिक ब्यवस्थापनका साथै सुरक्षामा कुनै असर गर्ने दृष्य देखिएमा तुरुन्तै प्रहरीलाई समेत खवर गर्ने गरिएको छ । जिल्लामा रहेका ठुला बैक तथा वित्तिय संस्थाले प्रतिबद्धता जनाएपनि आर्थिक सहयोग गरेका छैनन् ।