अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा पहिरोले सडक अवरुद्ध भएको छ । बुधबार दिउँसो सडक माथिबाट खसेको पहिरोले बेनी–जोमसोम सडकखण्डको दाना–घाँसा सडकमा सवारीसाधन र पैदलयात्रा बन्द भएको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ पटक–पटक अवरुद्ध हुदाँ यात्रुले जोखिम मोलेर यात्रा गर्ने गरेका छन्।  बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार सडक अवरुद्ध भएलगत्तै डोजरले अवरुद्ध पन्छाउने प्रयास गरेपनि पहिरो ठुलो भएकाले दुईदिनसम्म आवतजावतमा समस्या हुनसक्ने बताए । ‘यात्रुलाई सुरक्षित मार्गबाट गन्तब्यमा पठाउने प्रयास भइरहेको छ ।

यसबर्ष काभ्रेभीरमा विदेशी पर्यटकले ज्यान गुमाउनुका साथै ७ जना भीरबाट खसेको ढुंगाले लागेर घाईते भएका थिए । कालिगण्डकी करिडोरले सडक विस्तार तथा मर्मत गरिरहेको छ । ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ ।

स्रोहश्राद्धमा कागबेनी र मुक्तिनाथको दर्शनका लागि विभिन्न जिल्लाबाट मुस्ताङ गएका भक्तजनहरुका साथै आन्तरिक तथा बाह्य पर्यटक सडकखण्डका विभिन्न स्थानमा खस्ने पहिरोले जोखिम मोलेर यात्रा गर्ने गरेका छन् ।  म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३ गुईठेभीर,घट्टेखोला, काभ्रेभीरमा बर्षा लगत्तै समस्या हुने गरेको छ । पहाडको खोच, कच्ची सडक हिलाम्मे हुदाँ भाडा र निजी सवारीसाधनको यात्रा गर्ने यात्रुले गत असार महिना देखी असोजको पहिलो सातासम्म सास्ती खेप्नुपरेको छ ।