म्याग्दीमा क्षत्री दिवस मनाइयो

0
356

‘राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित बिहीबार म्याग्दीमा क्षत्री दिवस मनाइएको छ । क्षत्री समाज जिल्ला कार्यसमितिको आयोजनामा विविध कार्यक्रमहरु गरी सदरमुकाम बेनीमा क्षत्री दिवस मनाइएको हो ।

नेपालीहरुको महान् पर्व बडादशैं, शुभदिपावली तथा छठपर्व र नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल र क्षत्री समाज म्याग्दीका निवर्तमान अध्यक्ष क्याप्टेन मिनबहादुर कार्कीले देश निर्माणका साथै परिवर्तनका विभिन्न कालखण्डमा क्षत्रीहरुको योगदान रहेकोमा जोड दिँदै समाजमा जातिय सद्भाव कायम गर्न र हिन्दुधर्मको संरक्षणमा लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घार स्थायी घरभई हाल बेनीको न्युरोडमा बस्दै आएका अमृत बरुवाल र सन्जु थापा बरुवालले क्षत्री समाजलाई २० थान प्लाष्टिकका कुर्सीहरु सहयोग गरेका छन् ।

यसैगरी क्षत्री महिला समाजले क्षत्रीहरुको सामुदायिक भवनका लागि खरिद गरेको आवश्यक भाँडाकुँडालगायत एकलाख ५० हजार बराबरको सामान हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा महिला उद्यम विकास समितिको सभापतिमा निर्वाचित क्षत्री समाज म्याग्दीका सदस्य सुनिता, केसी, लायन्स क्लब अफ बेनी म्याग्दीको अध्यक्षमा निर्वाचित अमर बानियाँ र कुर्सी सहयोगदाता अमृत बरुवाललाई अबिर तथा खादा लगाएर सम्मान गरिएको थियो ।

क्षत्री समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाँको अध्यक्षता, उपाध्यक्ष अमृता भण्डारीको स्वागत र सचिव कृष्ण बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा अमर बानियाँ र सुनिता केसीले मन्तव्य राखेका थिए । यसअघि बुधबार क्षत्री समाजले दिवसको पूर्वसन्ध्यामा खुलामञ्चस्थित भगवती तथा बेनी शिवालय मन्दिर परिसरमा सयपत्री र मखमली लगायतका फुलका बिरुवाहरु रोपेको जनाएको छ ।