हिमालपारीको जिल्ला मुस्ताङ्लाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक विगत तीनदिन दिनदेखि अवरुद्ध बनेको छ। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रेभिरमा सडकभन्दा माथीबाट खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो ।

तीन दिनको प्रयास असफल भएपछि शुक्रबार र शनिबार दुईदिन विष्फोटक पर्दाथको प्रयोग गरेर सडक खुलाउने तयारी भइरहेको छ । नारच्याङमा रहेको श्रीबक्स गुल्मको यूनिटबाट मिस्त्री खोला जलविद्युत आयोजनका लागि राखिएको विष्फोटक पर्दाथको प्रयोग गरिने भएको हो । शुक्रबार राती होल खोलेर शनिबार दिउँसो सम्म सडक खुलाउने प्रयास भइरहेको छ । काभ्रेभिरमा माथीबाट खसेको सुख्खा पहिरोले करिब ५० मिटर सडक पुरेपछि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनी श्रद्धा गर्न पुगेका सोह्रश्रद्धाका तीर्थयात्री, मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने तथा फर्कंदै गरेका दर्शनार्थी, पर्यटक, कर्मचारी, सर्वसाधारण, यात्रुलगायतलाई आवतजावत गर्न समस्या भएको छ । सडक अवरुद्ध भएर यातायात बन्द भएपछि सर्वसाधारणले वैकल्पिक पदमार्गमार्फत पैदलयात्रा गर्न बाध्य भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बेनीअनलाइनलाई बताउनुभयो

। उहाँका अनुसार बेनीदेखि छुटेका सवारीसाधन दानामा र मुस्ताङको जोमसोमबाट छुटेका सवारीहरु घाँसामै रोकिएका छन् । सीधा यातायात बन्द भएपछि मुस्ताङको स्याउ ढुवानी र दशैंका लागि मुस्ताङ र डोल्पाबाट खरिद गरेर ल्याइएका भेडाच्याङ्ग्रालाई समेत सडक पार गराउन समस्या भएको व्यापारीहरुले गुनासो गरेका छन् ।

बुधबारको साँझदेखि परेको अविरल वर्षाका कारण सडक खुलाउने प्रयास गरिए पनि हालसम्म सफल हुन सकेको छैन । अवरुद्ध सडक खुलाउनका लागि बेनी–जोमसोम–कोरला आयोजनाका डोजर, स्काभेटरलगायत ४ ओटा मेशिन तयारी अवस्थामा राखिएको छ । अवरुद्ध सडक खुलाउन मेशिन तयारी अवस्थामा राखिए पनि निरन्तरको वर्षाका कारण सडक खुलाउन नसकिएको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

सडक खुलाउन बेनी खण्डमा ४ ओटा र मुस्ताङ तिरको खण्डमा एकवटा डोजर सडकमै राखिएको छ । तर, अप्ठ्यारो ठाउँ भएको हुँदा माथीबाट पहिरो खस्ने गरेकाले सडक खुलाउन नसकिएको प्रहरीको भनाई छ । सडक माथीबाट चार पाँचवटा ठूल्ठूला ढुङ्गा खसेर सडकलाई थप अवरुद्ध बनाएको प्रनाउ खड्काले बताउनुभयो । सडक खुलाउन प्रयोग गरिएको एकवटा डोजरको माथीबाट खसेको पहिरोले पुर्दा सिसा फुटेको बताइएको छ ।

उक्त स्थानमा अहिले पनि पहिरो खसिरहेको र जोखिम मोलेर सडक खुलाउने प्रयास जारी राखिएको कालीगण्डकी करिडोरका सुपरभाइजर ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । निरन्तर रुपमा परेको वर्षाका कारण आज पनि अवरुद्ध सडक खुल्ने सम्भावना कम रहेको उहाँको भनाई छ । सडक फराकिलो बनाउने काम भैरहेको ठाउँमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडकमा सीधा यातायात सेवा अवरुद्ध भएको छ ।

यातायात सेवा बन्द हुँदा हिमाली जिल्ला मुस्ताङको राष्ट्रिय राजमार्गसँगको सम्बन्धबिच्छेद भएको छ । यसैबीच सडक अवरुद्ध भएपछि बिच बाटोबाट सेवा दिने नाउँमा यातायात व्यवसायीहरुले भने चर्को रुपमा भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।