‘शान्तिसुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ भन्ने मूल नारासहित शुक्रबारदेखि म्याग्दीमा प्रहरी हाम्रो टोलमा अभियान–२०७४ सुरु भएको छ । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा अभियानको सुरुवात गरिएको हो ।

गृह प्रशासन सुधारसम्बन्धी ८४ बुँदे कार्ययोजना अन्तर्गत प्रहरी हाम्रो टोलमा अभियानको औपचारिक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उक्त कार्ययोजना अनुसार देशका सबै जिल्लामा अभियान चलाइने र नागरिक तथा प्रहरी बिचको सम्बन्ध साथीभाई जस्तो बनाउने रहेको बताइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले नेपाल सरकारले समय समयमा धेरै प्रकारका कार्यक्रमहरु ल्याउने भएको हुँदा तिनको व्यवहारिक कार्यान्वयन गर्नुपर्ने बताए । उनले प्रहरी हाम्रो टोलमा भन्ने कार्यक्रम आम नागरिकको भएकाले आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्ने बताउँदै समाजमा शान्ति र अमनचयन कायम गर्न प्रहरी, प्रशासन सबै मिलेर लाग्नुपर्ने बताएका थिए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नागरिकहरुलाई शान्ति सुरक्षाको महशुस गराउने कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताएका छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले गृह प्रशासनको सुधारसम्बन्धी कार्ययोजना अनुसार कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सरोकारवाला निकाय सबैले आ–आफ्नो क्षेत्रमा लाग्नुपर्ने बताए ।

प्रजिअ अधिकारीको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै स्वागत गरेकी थिइन् । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व ¥याली समेत गरिएको थियो ।