दक्षिण एशियाली यूवाहरूको प्रतिस्पर्धामा पर्वत बेनीका सरोज सापकोटाले फष्ट रनर अफको उपाधी हात पारेका छन् । गत सेक्टेम्बर १७ देखी २० तारिकसम्म भारतको भूवनेश्वरमा आयोजित विश्व यूवा सम्मेलनमा ’People choice award-2017’ मा प्रतिस्पर्धा गरिरहेका ८ देशका यूवाहरूमा भोटिङ र भाषणको आधारमा सापकोटा उपविजेता घोषित भएका थिए । 

दक्षिण दक्षिण एशियाका यूवाहरूको प्रतिस्पर्धामा विभिन्न चरणहरु पार गदैं उत्कृष्ट ८ मा छनौट भएका सापकोटाले प्रतियोगिताको विभिन्न चरणमा सहभागिता जनाएका ६० देशका सरकारी अधिकारी, मन्त्री र यूवाहरुको प्रतिनिधित्व रहेको सम्मेलनमा करिव १५ मिनेट नेपालका यूवाहरुको अवस्था, पर्यटन, धार्मिक लगाएत विभिन्न पक्षलाई समेटेर आफ्नो भनाई समेत राखेका थिए ।

उनले नेपाल सानो भएपनि विश्वकै सुन्दर र विकासमा लम्किएको देश भएकाले राजनीतिक, सामाजिक, धार्मिक, पर्यटनको क्षेत्रमा समेत यूवाहरुको सक्रियता महत्वपुर्ण रहेको बताएका थिए । नेपालका यूवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी सहित विश्वका विभिन्न देशका यूवा तथा खेलकुद मन्त्रीहरुको समेत उपस्थिती रहेको थियो । ‘नेपालको यूवा निति त्यहाँ सहभागि भएका देशहरुको मध्ये उत्कृष्ट रहेको बताइएको थियो ।

निति भएपनि कार्यान्वयनमा समस्या देखिएकोमा सबैले ध्यानार्कषण गराएका थिए’ सापकोटाले बेनीअनलाइनलाई भने । साक राष्ट्रमा नेपालको यूवा नितिको चर्चा समेत गरिएको थियो । सम्मेलनमा यूवाहरुको क्षमतालाई प्रयोग गरेर देश निर्माण गर्न सकिने भएकाले यूवालाई रोजगारीको ब्यवस्था सहित यूवा अनुकुलका नितिलाई कार्यान्वयनमा जोठ दिइएको थियो ।

नेपालका यूवा तथा खेलकुद मन्त्री केसीले हरेक क्षेत्रमा क्षमतावान यूवाहरुको सीपलाई राष्ट्र निर्माणमा खर्चने प्रतिबद्धता जनाएका थिए । उनले नेपालको तर्फबाट सहभागि भएर फष्ट रनर अफको उपाधी पाएका सापकोटालाई समेत बधाई दिए। पर्वतको होराईजन बोर्डिङ, म्याग्दीको माउण्ट एभरेष्टबाट उच्च शिक्षा हासिल गरेका सापकोटा भारतमा सिए अध्ययन गरिरहेका छन् । उनले नेपालको प्रतिनिधित्व गदैं भारतका विभिन्न कार्यक्रमहरुमा समेत सहभागिता जनाएका थिए ।

भारतमा सिए अध्ययरत १० हजार विद्यार्थीको साझा संस्था हातेमालो नेपालको अध्यक्ष समेत रहेका सापकोटाले आर्थिक अभाव, भूकम्प, बाढीपहिरो प्रभावित लगाएतलाई राहत संकलनमा समेत नेतृत्वदायी भूमिका खेलेका छन् । पढाईमा समेत अब्बल रहेका सापकोटाले भारतमा विरामी भएर जाने नेपालीलाई रगतको ब्यवस्था समेत गर्ने यूवामा पर्छन् ।