नगर भित्रका सबै बाह्रै महिना यातायात सञ्चालन गर्ने गरी सडक स्तरोन्नति

0
159

म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनपश्चात् बेनी नगरपालिकाबाट सम्पादित कार्यहरु र भावी योजनाको विषयमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले नगरपालिकामार्फत छनोट गरी सञ्चालन गरिएका योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले वर्षात्को समयमा जिल्लाका अधिकांश सडकहरु अवरुद्ध भएको बताउँदै मर्मतसम्भार कोष हुँदाहुँदै पनि खर्च नगर्ने आदेश आउँदा सडकको मर्मत गर्न नसकिएको बताए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले समृद्ध बेनी नगरपालिका निर्माणका लागि सबै सरोकारवालाहरु जुट्नुपर्ने भन्दै योजनाको दीगो सञ्चालन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका थिए । नगर प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिका अन्तर्गत सबै वडामा बाह्रै महिना यातायात सञ्चालन गर्नेगरी सडक स्तरोन्नति गरिने बताउँदै सबै नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउन ‘एक घर, एक धारा’को अभियान अनुसार योजना सञ्चालन गरिने बताए ।

उनले काठको पोल परिवर्तन गरी विद्युतका पोलहरु गाडिने, शैक्षिक गुणस्तर सुधार गरिने, नगरपालिकाको गुरुयोजना बनाइने, पशु बधशाला व्यवस्थित गरिने जानकारी दिएका छन् । नगर उपप्रमुख सन्जु बरुवालले नेपालीहरुको महान् पर्व बडादशैं अगाडि नै नगर क्षेत्रभित्रका अबरुद्ध ग्रामीण सडक खुलाउनका लागि काम सुरु गरिएको बताइन् । यसैगरी कार्यकारी अधिकृत विश्वामित्र कुँईकेलले १४६ ओटा बुँदामा आधारित रहेर नगर प्रोफाइल निर्माण गरिने जानकारी दिएका छन् ।

नगर प्रमुख श्रेष्ठको अध्यक्षता तथा कार्यक्रमको उद्देश्यमाथी प्रकाश र कार्यकारी अधिकृत कुँईकेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार एवं सञ्चारकर्मीहरुले नगरपालिकाको गुरुयोजना, डम्पिङ साइड निर्माण, बधशाला व्यवस्थापन, सडक स्तरोन्नति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।